दक्षिण चितवनको माडीस्थित रामराज्यपुरका दुई बालिकाको शव छ दिनपछि आज उठेको छ । घटनाको विषयमा अनुसन्धान गरी दोषी पाइए कारबाही गर्ने प्रहरीको प्रतिबद्धतापछि आज परिवारले शव उठाएर दाहसंस्कार गरेका हुन्।
मृतक दीपिकाकी आमा माया सुनार र दीपशिलाका बुबा दिनेश दर्जीले शव बुझेर आजै देवघाटमा अन्तिम संस्कार गरेको राजनीतिक दल महिला सञ्जाल, चितवनकी अध्यक्ष सङ्गीता भट्टराईले जानकारी दिए।
शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दीपशिला परियार र ११ वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो। उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो।
उनीहरुको शव विगत छ दिनदेखि भरतपुर अस्पतालमा थियो भने स्थानीयवासी सङ्घर्ष समिति नै बनाएर आन्दोलित थिए।
पीडित परिवारले डुबेर हैन कसैले मारेको हो भन्दै दोषीलाई पत्ता लगाई कारबाहीको माग गर्दै आएका छन्।
घटनामा संलग्न रहेको आरोपमा पाँचजनाविरुद्ध किटानी जाहेरी परेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। किटानी परेकामा केही वनभोजमा सहभागी भएकाहरु छन् भने केही बाहिरका पनि छन्। उनीहरुको विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिएका छन्। रासस