प्रहरीले केही वर्षयता काठमाडौं उपत्यकामा लागु औषध बेच्ने एक जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं बौद्ध टुसाल घर भइ मैतीदेवीमा डेरा गरी बस्दै आएका ४९ वर्षीय गौतम थापालाई पक्राउ गरेको हो।
थापा ८ वर्ष कैद भुक्तान गरी २०५४ सालमा छुटेका थिए। २०४२ सालमा पदम ठकुराठीलाई गोली हानेपछि फरार भएका थापाले २०४६ सालमा आत्मसर्मपण गरेका थिए।
जेलबाट छुटेपछि उनी लागु औषध तस्करी तिर लागेको एसएसपी धिरु बस्नेतले जानकारी दिए। उनले वीरगंज नाका हुदैँ लागू औषध काठमाडौं ल्याउने र विभिन्न स्थानमा बेच्ने गरेको खुल्न आएको छ।
प्रहरीले उनको साथबाट नुफिल एमपुल २ सय ६० पिस, डाइजेपाम २६० पिस, फेनारगन २ सय ६० पिस नाइट्राभेट ४ हजार ६ सय ८० ट्याब्लेट बरामद गरेको छ। बरामद भएका लागू औषधले सोच्न सक्ने अवस्था हराउने, निदाएको निदाएै हुने, टोलाएर बस्ने, अस्वस्थ्य बनाउने, रगत र ब्रेनलाई असर गर्ने खालको रहेको एसएसपी बस्नेतले बताए।