माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कुल सहभागीमध्ये छात्राहरु बढी भए पनि राम्रो नतिजा ल्याउनेमा छात्रहरु बढी देखिएका छन्।
शुक्रबार सार्वजनिक भएको संवत् २०७३ को परीक्षाफलमा स्तरीकृत अङ्क (जिपिए) ३ दशमलव ६५ देखि ४ सम्म औषत अति उत्तम क्षमताका कुल १२ हजार २८४ विद्यार्थी देखिएकामा छात्र ३ दशमलव ७५ र छात्रा २ दशमलव ३४ प्रतिशत छन् ।
परीक्षामा नियमिततर्फ कुल चार लाख ४५ हजार ५६४ मध्ये छात्र दुई लाख २१ हजार ६८२ (४९ दशमलव ७५ प्रतिशत) र छात्रा दुई लाख २३ हजार ८८२ (५० दशमलव २५ प्रतिशत) सहभागी थिए ।
विसं २०७२ मा जारी भएको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधिअनुसार प्राप्ताङ्क नदिई परीक्षार्थीलाई विषयगत ग्रेड दिइन्छ । त्यसअघि प्राप्ताङ्कका आधारमा उत्तीर्ण र अनुत्तीर्णसहित लब्धाङ्कपत्र (मार्कसिट) दिइने प्रवेशिका (एसएलसी) परीक्षा प्रणाली थियो ।
जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्मको क्षमताका ४२ हजार ४२७ विद्यार्थी रहेकामा छात्र ११ दशमलव २४, छात्रा ७ दशमलव ८२ प्रतिशत छन् । समग्रमा अन्य क्षमताका विद्यार्थीमा पनि छात्राकै प्रतिशत बढी छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले परीक्षाफलमा देखिने यस्तो असमानता सुधारका लागि मूलतः कक्षामा गरिने सिकाइ सहजीकरण क्रियाकलापमा सुधार गर्ने, विद्यालयमा उचित सिकाइ वातावरण सुदृढ गर्ने, पाठ्यक्रममा आधारित सिकाइ र पाठ्यक्रममै आधारित मूल्याङ्कन पद्दति सुदृढ गर्नुपर्ने बताए।
अभिभावक सङ्घका उपाध्यक्ष सरिता अर्यालले विद्यालय भर्ना र परीक्षामा सामेल हुनेमा छात्राहरु बढी हुने भएपनि नतिजामा छात्रको सङ्ख्या बढी हुनुले शैक्षिक गुणस्तरमा लैङ्गिक असमानता देखिएको र यो सामाजिक सुधारकै अभियानबाट परिवर्तन गर्न सकिने बताए।
शिक्षाविद् डा मनप्रसाद वाग्लेले एसइई परीक्षा प्रणालीले विद्यार्थीको गुणस्तरको सही मूल्याङ्कन गरेको मान्न नसकिने बताउँदै अक्षराङ्कन पद्धतिको नतिजालाई समग्रमा गुणस्तर सुधारको अवस्था मान्न नसकिने बताए ।
उनले नियमितमध्ये कक्षा ११ मा भर्ना हुन आवश्यक मानिनेभन्दा कम ३० को हाराहारीको अङ्क पनि ल्याउन नसक्ने विद्यार्थी अङ्ग्रेजी विषयमा ३३ प्रतिशत, गणितमा ४६.५५, विज्ञानमा ४३.७५ र सामाजिक शिक्षामा २३.६५ प्रतिशत भएकाले एक लाखभन्दा बढी विद्यार्थी कक्षा ११ पढ्नबाट वञ्चित हुने बताए। यसमा पनि छात्राको सङ्ख्या उच्च रहेको पनि उनले बताए। रासस