जिउ मास्ने बेच्ने मुद्दाका फरार भएका चितवन, खैरेनी–१३ बस्ने रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट, साल्मे गाविस–५ स्थायी घर भएका ५३ वर्षीय तामाङलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले चितवन खैरेनीबाट शनिबार पक्राउ गरेको छ ।
जिउ मास्ने बेच्ने मुद्धामा धादिङ जिल्ला अदालतको २०६७ जेठ २४ गतेको फैसलाले तामाङलाई १५ वर्ष कैद र १७ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
तामाङले २०४८ पुस २१ गते एक महिलालाई बिहे गर्छु भनी ललाई फकाई धादिङ्गबाट लिई हिँडेको र झुक्याई कन्चनपुरको वनवासा नाकाबाट भारतको बम्बईस्थित वेश्यालयमा पुर्याई १७ हजार रुपैयाँमा बिक्री गरेका थिए ।
तामाङलाई फैसला कार्यान्वयनको लागि आइतबार धादिङ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार शाखा धादिङ पठाइएको छ ।