बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मत हाल्न जाँदा साथमा छाता पनि बोकेर जानु पर्ने भएको छ।
मध्य असारमा हुन लागेको चुनावको दिन तीनै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले पोखरा आसपासका क्षेत्रसम्म मनसुनी वायू सक्रिय छ। पर्सीसम्म त्यो पश्चिममा फैलिने छ। ‘यो वर्ष जुन १२ मा मनसुन पूर्वबाट नेपाल छिरेको थियो’, श्रेष्ठले भने, ‘तर पश्चिमी वायूले बलियो भएर बसेकाले सक्रिय हुन पाएन। अहिले पोखरासम्म पुगेको छ।’
सामान्यतयाः पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायू हप्ता दिनभित्र देशभरि सक्रिय भइसक्छ। ‘एक त यसपालि मनसुनी वायू नै ढिला आयो अर्कातिर पश्चिमी वायूले बाटो छेकेकाले फैलन पाएन’, मौसमविद् श्रेष्ठले भने।
प्रदेश नम्बर १ मा मनसुन सक्रिय भइसकेकाले चुनावको दिन बिहानैदेखि पानी पर्ने सम्भावना रहेको उनले बताए। ‘प्रदेश नम्बर एकमा चुनावको दिन बिहानैदेखि पानी पर्ने सम्भावना छ’, श्रेष्ठले भने, ‘तर लगातार झरी पर्ने होइन, एक/डेढ घन्टा पानी परेर रोकिने फेरि पानी पर्ने सम्भावना देखिन्छ।’
प्रदेश नम्बर पाँच र सातमा भने अपरान्हपछि र साँझपख पानी पर्ने महाशाखाको अनुमान छ।
पाँच नम्बर प्रदेशका केही जिल्लामा मनसुनी वायू सक्रिय हुने भएकाले त्यहाँ मनुसनी वर्षा हुने सम्भावना छ।
‘प्रदेश नम्बर सातमा अहिले पनि पश्चिमी वायूको प्रभाव कायमै छ,’ श्रेष्ठले भने, ‘चुनावको दिन पनि त्यहाँ तराईकाभन्दा पहाडी जिल्लामा बढी पानी पर्ने सम्भावना छ।’
पश्चिमी वायूको प्रभावले पहाडी र हिमाली क्षेत्रमा बढी वर्षा हुन्छ भने मनसुनी वायूको प्रभाव सबैतिर समान हुने गर्छ।
आफूहरुले हरेक दिन मौसमी जानकारी निर्वाचन आयोगलाई रिपोर्ट गर्दै आएको र हप्ता दिन पहिलाको पूर्वानुमान पनि पठाएको श्रेष्ठले बताए।
निर्वाचन अायोगले पानी परे पनि मत पत्र र मत पेटिका जोगाउने गरी तयारी भएको जनाएकोछ।
आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले चुनावको दिन पानी पर्न सक्छ भन्ने हेक्का राखेर मतदान केन्द्र बनाउन निर्देशन दिइएको बताए। ‘मतदाता बरु यताउति ओत लाग्न सक्छन्, हामीले त मत पत्र र मत पेटिका जोगाउन पर्छ त्यही भएर पाललगायत आवश्यक कुराको व्यवस्था गर्न भनेका छौं’, शर्माले भने।
भिजेको हातले मतदान गर्दा मत पत्र पनि भिज्न सक्ने भएकाले साथमा रुमाल पनि लिएर जानु राम्रो हुने आयोगको सुझाव छ।
असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ।