अपहरणमा परेका तुलसीपुर दाङका व्यापारी राजकुमार श्रेष्ठको शव हेलिकप्टरमा केही बेरअघि तुलसीपुर ल्याइएको छ।
जेठ २६ साँझ शुक्रबार अपहरणमा परेका श्रेष्ठको शव असार १६ गते शुक्रबारकै दिन पाथिभरास्थित घना जंगलमा फेला परेको थियो। हेलिकप्टरमा उनको शव तुलसीपुरस्थित निवासमा ल्याइएको हो। त्यसपछि पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ।
अपहरणमा परेका तेस्रो दिनमै दाङका व्यापारी श्रेष्ठको हत्या भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले सेतोपाटीलाई जानकारी दिएका छन्। उनका अनुसार एक युवती र दुई जना भारतीय नागरिकले श्रेष्ठलाई अपहरण गरी सल्यान पुर्याएको अनुसन्धानबाट खुलेको छ।
‘अपहरणकारीले सल्यानको पाथिभरा लेकस्थित घनघोर जंगलमा उनको हत्या गरेका थिए,’ ती प्रहरी अधिकृतले भने, ‘हत्यापछि अपहरणकारीले ढुंगै ढुंगाले थिचेर श्रेष्ठको शव जंगलको गुफाजस्तो ठाउँभित्र लुकाएका रहेछन्।’
अपहरण भएको भोलिपल्ट श्रेष्ठको कार हावा खुस्काएको अवस्थामा रिम जंगलमा भेटिएको थियो। श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटेको थियो। टोलीले अनुसन्धानका क्रममा अपहरणकारीलाई सहयोग पुर्याउने पाँच जनालाई पक्राउ गरेको छ।
अपहरणकारीका मुख्य नाइके र घटनामा प्रयोग भएको युवतीको पहिचान भए पनि उनीहरुलाई अझै पक्रन नसकेको प्रहरीले बताएको छ।
श्रेष्ठको हत्यापछि अपहरणकारीको नाइके र युवती भारततर्फ भागेको प्रहरीले जनाएको छ। व्यापारी श्रेष्ठसँगै सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ।