जेठ २२ गते काठमाडौंको बसुन्धरामा जेब्राक्रसबाट बाटो काटिरहेकी पैदल यात्रीलाई ठक्कर दिने बसका चालकलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामाका अनुसार आइतबार जिल्ला अदालत काठमाडौंले बसका चालक बिनय तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
यसअघि प्रहरीले तामाङलाई सरकारी वकिललाई बुझाएको थियो। सरकारी वकिलले अदालतमा बुझाएपछि अदालतले उनलाई मुद्दाको फैसला नहुन्जेल थुनामा राख्न आदेश दिएको हो।
प्रहरीले सवारी ज्यान मुद्धामा तामाङविरुद्ध मुद्धा चलाएको छ। यो मुद्धामा उनी दोषी देखिए अदालतले २ देखि ८ वर्षसम्मको जेल सजाय तोक्न सक्छ।
जेठ २२ गते बसुन्धराको जेब्राक्रसमा बाटो काटिरहेकी रवीना चौधरीलाई तामाङले चलाएको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट चौधरीको घटनास्थलमै ज्यान गएको थियो।