बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ ।
अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । नदीले करिब २० मि सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुई दिनदेखि सिधा यातायात अवरुद्ध बनेको अन्नपूर्ण गाउँपालिका–२ का वडा सदस्य बुद्धि पुनले जानकारी दिए। उनका अनुसार सडक अवरुद्ध बनेपछि म्याग्दीको उत्तरी भेगका साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तीर्थयात्री तथा सर्वसाधारण यात्रु समस्यामा परेका छन् ।
सिधा यातायात अवरुद्ध बनेपछि यात्रुले सवारीसाधन परिवर्तन गरि यात्रा गर्नुपर्ने झन्झट भएको छ । बिहीबार साँझ नदी कटानले सडक बगाएको थियो । निरन्तरको वर्षाले कालीगण्डकीमा उर्लिएको बहावले क्षति पुर्याएको सडकलाई अस्थायी रुपमा मर्मत गरी खुलाउने प्रयास भइरहेको अन्नपूर्ण गाउँपालिका प्रमुख क्या डमबहादुर पुनले जानकारी दिए।
अहिले कालीगण्डकीले कटान गरेका ठाउँमा अस्थायी रुपमा डोजरको सहायताले ठूला–ठूला ढुङ्गा राखेर नदीको बहाव रोकी एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको उनले बताए।
सिधा सवारी सञ्चालन नहुँदा सयौँ यात्रु समस्यामा परेपछि सडकको अवस्थाबारे शुक्रबार प्रजिअ राजुप्रसाद पौडेललगायत सुरक्षा निकायका अधिकारीलेस्थलगत निरीक्षण गरे।
जिल्लास्थित सुरक्षा निकाय र गाउँपालिकाको पहलमा सडक विभागका डोजर तथा दानास्थित निर्माणाधीन सबस्टेसनका दुई र घलेम्दी हाइड्रोपावर प्रोजेक्टको एक टिपर कटान भएको सडकलाई अस्थायी रुपमा सञ्चालन गराउने कार्यमा परिचालन भएका छन् ।
सडक भत्किएपछि बेनी, पोखरा र काठमाडौँबाट मुस्ताङका लागि छुटेको सवारीसाधन भिरकाटेमै तथा जोमसोमबाट छुटेका जिप, बस तथा मालबाहक ट्रक पोखरेबगरमै रोकिएका छन् । आज साँझसम्म एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको सडक विभागका स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनले जानकारी दिए । सो सडकमा जिप, बस तथा मालबाहक ट्रक गरी दैनिक २०० सवारीसाधन सञ्चालन हुँदै आएका छन् । रासस