मध्य बर्खाको समय छ, दिनदिनै पानी परिरहेको छ। घरमा बिजुली भने बेलाबेला झ्याप्प झ्याप्प गइरहन्छ। कहिलेकाहीँ घन्टौंसम्म आउँदैन।
गएको दसैंयता २४ सै घन्टा बिजुली बाल्न बानी पानी परेकाहरुले यस्तरी घरीघरी बिजुली गएपछि प्रश्न गर्न थालेका छन्, ‘कुलमानले काम गर्न छाडे कि क्या हो?’
केहीको शंका छ, ‘बर्खामा पनि बत्ती जान थाल्यो भने यो सालको हिउँदमा फेरि लोडसेडिङ हुन्छ कि!’
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ भने लोडसेडिङबारे उत्पन्न सबै शंकालाई निराधार बताउँछन्। आफ्नो काम गर्ने जाँगरमा कमी आएकाले नभई प्राविधिक कारणले बेलाबेला बिजुली जाने गरेको उनको भनाइ छ।
‘मैले पहिला जसरी काम गर्थें अहिले पनि त्यसरी नै गरिरहेको छु, अहिले त झन् देशभरि कहीँ लोडसेडिङ छैन,’ आइतबार सेतोपाटीसँग कुरा गर्दै घिसिङले भने, ‘बर्खा र मेलम्ची आयोजनाका कारण बेलाबेला बत्ती जाने समस्या भएको हो।’
घिसिङका अनुसार हिउँदको तुलनामा बर्खामा बिजुली उत्पादनदेखि वितरणसम्म धेरै समस्या हुन्छ। रन अफ दी रिभर प्रोजेक्ट भएका नदीमा बाढी आउँदा केही घन्टा इन्जिन नै बन्द गर्नुपर्छ। नत्र बाढीसँगै आउने ढुंगा र काठले इन्जिन नै बिगार्ने खतरा हुन्छ।
लगातार पर्ने झरीले ट्रान्समिसन लाइनमा भएको इन्सुलेटर फुट्ने सम्भावना पनि बढी हुने उनले बताए। इन्सुलेटर फुटेर जमिनको सम्पर्कमा आउँदा लाइन सट हुन्छ। यो सिजनमा चट्याङ पनि धेरै पर्छ। बिजुलीका तारमा चट्याङ पर्दा लाइन सट भएर प्रसारण अवरुद्ध हुन्छ।
‘यस्ता कारणले बर्खामा बेलाबेला बिजुली गइरहन्छ,’ घिसिङले भने, ‘योपालि त हामीले हिउँदमा मर्मत गर्नुपर्ने केही आयोजना पनि बर्खामा मर्मत गरिरहेका छौं, त्यसले पनि केहीबेर समस्या हुन्छ।’
राजधानीमा बेलाबेला बिजुली जानुको अर्को कारण मेलम्ची आयोजना र सडक विस्तार पनि हो। मेलम्चीको पाइप बिछ्याउन राजधानीका विभिन्न स्थानमा प्रसारण लाइन काटिएको छ भने सडक विस्तारका लागि पोलहरु हटाउन परेको छ।
‘अस्ति एक दिन त सिंहदरबार–टेकुको ६६ केभी प्रसारण लाइन नै काटिदिए, १५/१६ ठाउँमा आयोजनाले बिजुलीका लाइन काटिदिएपछि समस्या भइरहेको छ,’ घिसिङले भने, ‘सडक विस्तार गर्दा कति ठाउँमा पोल सार्नपर्छ, त्यसले पनि त्यो क्षेत्रमा बिजुली जाने हुन्छ।’
विकसित देशहरूमा बिजुली वितरणका लागि एकभन्दा बढी प्रणाली तयार पारिएको हुन्छ। हाम्रो देशमा एउटा मात्र सिस्टम भएकाले त्यसमा समस्या आउनासाथ अर्को उपायबाट बिजुली पठाउन नसकिएको घिसिङले बताए।
त्यसो हो भने आउँदो हिउँदमा फेरि लोडसेडिङ हुन्छ कि भनेर शंका गर्नु पर्दैन त?
‘बिल्कुल शंका गर्नु पर्दैन, झन् गएको हिउँदभन्दा राम्ररी बिजुली आपूर्ति गर्छौं’, घिसिङले भने।
उनका अनुसार आउने हिउँदमा पोहोरको भन्दा पिक आवरमा २०० मेगावाट माग बढ्ने प्राधिकरणको अनुमान छ। उक्त माग पूरा गर्न १०० मेगावाट थप बिजुली निजी क्षेत्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भने प्राधिकरणले नै निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट पनि उत्पादन सुरु हुनेछ।
विश्व बैंकको सहयोगमा २५ मेगावाटको सोलार बिजुली पनि आउने प्राधिकरणको आशा छ।
‘अर्को वर्ष बिजुली अपुग भयो भने भारतबाट पनि हामीले चाहिनेजति बिजुली काठमाडौं ल्याउन सक्छौं,’ घिसिङले भने, ‘प्रसारण लाइन नभएर भारतबाट बिजुली ल्याउने समस्या हुँदैन।’
भारतबाट बिजुली ल्याउन कटैया–कुशहवा र रक्सौल–परवानीपुर प्रसारण लाइन निर्माण भइसकेका छन्। आउने हिउँदअघि नै ढल्केबरमा २२० केभीको ट्रान्सफर्मर पनि राखिसक्ने गरी काम भइरहेको छ।