दाङ, तुलसीपुरका ५९ वर्षीया व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवतीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
श्रेष्ठलाई घुम्न जाने बहानामा टेलिफोन गरी डाक्ने र अपहरण गराउने पूजा घर्ती नामकी युवती उक्त घटनालगत्तै फरार भएकी थिइन्। उनी भारतको सिमलामा लुकिछिपी बसेको सूचना पाएपछि सादा पोसाकका प्रहरी त्यहाँ गएका थिए। घर्तीलाई सिमलाबाटै पक्राउ गरी ल्याइएको अनुसन्धानमा संलग्न प्रहरी स्रोत बताउँछ।
दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले भने उनलाई नेपालगन्जबाट पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले श्रेष्ठको हत्या र अपहरणका प्रमुख योजनाकार भन्दै नेपाली सेनाका पूर्वहवल्दार टिकाराम घर्तीलाई यसअिघ नै पक्राउ गरेको थियो। अिहले समातिएकी पूजा उनकै छोरी हुन्। टिकारामले आफ्नी छोरीलाई प्रयोग गरेर श्रेष्ठको अपहरण र हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार पूजाले जेठ २६ गते साँझ व्यापारी श्रेष्ठलाई फोन गरेर सल्यान घुम्न जाने प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्ताव मानेर घुम्न गएका श्रेष्ठ अपहरणमा परेका थिए। त्यस दिन श्रेष्ठकी श्रीमती माइत गएको समयमा पूजाले फोन गरेर घुम्न जाने प्रस्ताव गरेको प्रहरीको दाबी छ।
प्रहरीले श्रेष्ठको शव सल्यानको जंगलमा फेला पारेको थियो।
यसरी भएको थियो व्यापारी श्रेष्ठको अपहरणजेठ २६ गते शुक्रबार अपरान्ह रोटरी क्लब अफ तुलसीपुरको बैठक डाकिएको थियो। उनी त्यही बैठकमा सहभागी थिए। बैठकमै रहँदा उनको फोनको घन्टी बज्यो।
फोन थियो, १७ वर्षीया पूजा घर्ती मगरको। पूजाले घुम्न जाउँ भनेर प्रस्ताव राखेपछि व्यापारी श्रेष्ठ बैठक सकेर घरमा पुगे। केही बेरमा आउँछु भनेर बा१ च १०७१ नम्बरको कार लिएर घरबाट निस्किए।
युवतीलाई तुलसीपुरको वीरेन्द्र चोकदेखि उत्तरतिर सल्यान रोडबाट गाडीमा राखे, अनि लागे सल्यानतिर। ‘चिनेजानेकै युवती भएकाले पनि ढुक्क भएर व्यापारी श्रेष्ठ कपुरकोटतिर गएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने। उनी अपहरणमा परेको भने भोलिपल्ट मात्रै थाहा भएको थियो।
व्यापारी श्रेष्ठकी पत्नीले आफ्ना श्रीमान शुक्रबारदेखि नै घर नआएको र सम्पर्कविहीन भएको खबर प्रहरीलाई जानकारी गराएपछि उनको अपहरण भएको खुलेको थियो।
त्यसपछि उनले लगेको कार सल्यानको कपुरकोट गाउँपालिकास्थित सिनबाङ र रिमको बीचमा पर्ने जंगलमा हावा फुस्काइएको अवस्थामा फेला परेको थियो। उनको कारसँगै भारतीय नम्बर प्लेटको कार पनि सोही स्थानमा फेला परेपछि प्रहरी व्यापारी श्रेष्ठ अपहरणमा परेको निष्कर्षमा पुगेको थियो।
फिरौती दिन्छौं भन्दा भन्दै हत्या?अपहरणकारीले व्यापारी श्रेष्ठको आवाजमा भ्वाइस रेकर्ड गरेर फोनमा श्रेष्ठका परिवारलाई पठाएका थिए। परिवारलाई पठाइएको भ्वाइस क्लिपमा ‘आफू सकुशल रहेको र मुक्तिका लागि तीन करोड रुपैयाँ दिनू’ भन्ने उल्लेख थियो। प्रहरीका अनुसार तीन करोड रकम फिरौती दिन श्रेष्ठको परिवार सहमत भइसकेको थियो। उनी त्यही दिन अचेत भएपछि सबै फस्ने डरले ढुंगाले थिचेर हत्या गरेको अभियुक्तहरुले बयानमा भनेका छन्।
मधुमेहका बिरामी व्यापारी श्रेष्ठ जंगलमा भोकै भएपछि बेलाबेला अचेत हुने गरेको पक्राउ परेका अभियुक्त तुलसीपुर–१२ का कमल उर्फ अबिरल महतराले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।
‘व्यापारी श्रेष्ठ अचेत भएर बिरामी परेपछि अस्पताल पनि लैजान नसकिने र त्यत्तिकै छोडेर जाँदा पछि आफूहरुलाई अप्ठेरो पर्न सक्ने भएपछि ओडारजस्तो ठाउँमा लगेर ढुंगाले थिचेर हत्या गरेका हौं,’ पक्राउ परेका महतराको बयान उद्धृत गर्दै प्रहरीले भन्यो।
अपहरणमा परेको तीन दिनसम्म श्रेष्ठलाई केही खाने कुरा दिएका थिएनन्। ‘मधुमेहका बिरामी त्यसमा छिन छिनमा भोक लाग्ने भएकाले पनि व्यापारी श्रेष्ठ बेला बेलामा अचेत भएर लड्न गर्थे,’ अभियुक्त महतराले बयानमा भनेका छन्।