जल तथा मौसम विज्ञान विभागले विपद् व्यवस्थापन तथा मौसम पूर्वानुमानका लागि सुर्खेतमा मौसमी राडार स्थापना गर्ने भएको छ ।
करिब १५० अर्धब्यासको आकासमा स्क्यानिङ (चित्राङ्कित) गर्नसक्ने उक्त राडारबाट आकाशमा बादल भए/नभएको, पानी के कति पर्ने भन्ने बारेमा सूचना लिन सकिनेछ ।
आकाशतर्फ तेर्साएर राखिने सो यन्त्रले ३६० डिग्रीको कोण बनाएर त्यहाँको वास्तविक अवस्थाको तस्बिर खिच्ने र त्यसका आधारमा हिमपात, असिना तथा स्थानीय क्षेत्र हवाई यातायातका लागि उपयुक्त भए/नभएको अनुमान गर्न सकिन्छ । त्यसबाट विभिन्न नदीमा बाढी आउनसक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीतिसमेत बनाउन सकिने विभागले जनाएको छ ।
विश्व बैंकको सहयोगमा करिब रु २२ करोडको लागतमा आगामी आवभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिए। उनका अनुसार हिमतालमा हुने घटबढ तथा मनसुनमा आउने फेरबदलबारे अध्ययन गरेपछि स्थानीयवासीलाई सूचना प्रवाह गरी खतरामुक्त स्थानमा सारेर धनजनको क्षति हुनबाट बचाउन सो राडारको महत्व छ ।
सो कार्य सम्पन्न भएलगत्तै उदयपुर र पाल्पामा पनि यस किसिमको राडार निर्माण गर्ने योजना विभागको छ । रासस