हिमालपारीको जिल्ला मनाङमा चालु आवमा अहिलेसम्ममा ट्राफिक कारबाहीबाट छ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
अघिल्लो आवमा तीन लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । मनाङमा सवारी साधनमा वृद्धि भएसँगै ट्राफिक कारबाही पनि बढेको छ । ट्राफिक कारबाहीबाट दुई वर्षयता करिब १० लाख राजस्व संकलन भएको ट्राफिक प्रहरी राजेन्द्र नेपालीले जानकारी दिए।
ट्राफिक प्रहरीका अनुसार २५ ट्रक चालक, ८०५ जिप चालक, ५९ ट्याक्टर चालक र ६१ मोटरसाइकल चालक कारबाहीमा परेका छन् । अघिल्लो आवमा ७८६ सवारीचालक कारबाहीमा परेका थिए । गत वर्षदेखि मात्र मनाङमा ट्राफिक प्रहरी परिचालन गरिएको हो ।
जिल्लामा पश्चिमाञ्चाल क्षेत्रीय ट्राफिक निर्देशनालयको निगरानीमा दुईवटा ठाउँमा ट्राफिक चेकपोस्ट राखिएको छ । धारापानी र कोतो (क्युपाटा)स्थित चेकपोस्टमा प्रहरी सहायक निरीक्षकसहित तीनजना ट्राफिक प्रहरी खटिएका छन् । रासस