चितवनको रत्ननगरमा आश्रित चेपाङ बालबालिकाका लागि खाने अन्न सकिएपछि विभिन्न क्षेत्रबाट आज खाद्यान्न सहयोग गरिएको छ । आज यहाँ ४० बोरा चामलसहित दाल, नून, तेल, मसलालगायत खाद्यान्न सहयोग गरिएको छ ।
सौराहास्थित लायन्स क्लब अफ चितवन र लियो क्लब अफ चितवनले आज गामबेँशी चेपाङ संरक्षण केन्द्रमा पुगेरै त्यहाँ आश्रित चेपाङ बालबालिकालाई १५ बोरा चामल तथा दुई बोरा दाल सहयोग उपलब्ध गराएको हो ।
लायन्सका द्वितीय उपाध्यक्ष शीरलाल परियारले केन्द्रमा आएर हेर्दा खाद्यान्न सकिएको जानकारी पाएपछि लायन्स तथा लियोबाट पैसा संकलन गरेर यसरी खाद्यान्न सहयोग गरिएको बताए।
परियारले बालबालिकाका लागि खाद्यान्न नभएको जानकारी आएपछि तीन दिनअघि पनि चार बोरा चामल सहयोग गरेका थिए। चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले चामल सकिएर बालबालिका भोगभोकै बस्ने अवस्था आएका बेला सहयोग भएको खाद्यान्नले ठूलो राहत मिलेको बताए।
लायन्स क्लब इन्टरनेशनल ३२५ वी२ का रिजन चेयरपर्सन योगेश अधिकारीले समस्यामा परेकालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि भएको उल्लेख गरे। यस्तै सो केन्द्रमा खाद्यान्नको अभाव भएको थाहा पाएपछि आजै चितवनको भरतपुरका क्रिकेट खेलाडीले समेत खाद्यान्न सहयोग गरेका छन् ।
क्रिकेट खेलाडी निश्चल पाण्डेसहितको खेलाडी आएर २५ बोरा चामल, पाँच कार्टुन तेल, एक बोरा नुन तथा मसला सहयोग गरिएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिए।
सो केन्द्रमा विभिन्न क्षेत्रका करिब १०० जना चेपाङ बालबालिका आश्रय लिएर पठनपाठन गर्दै आएका छन् । रासस