भारतको एक मिडिया कम्पनीले महिनावारीको पहिलो दिन ‘तलबी विदा’ दिने घोषणा गरेको छ।
महिनावारीको पहिलो दिन महिलाहरूलाई काम गर्न असहज हुने र आरामको खाँचो पर्ने भन्दै कम्पनीले तलबी विदा घोषणा गरेको हो। यसले महिनावारीसँग जोडिएको महिला स्वास्थ्यप्रति सबैको ध्यानाकृष्ट गर्ने कम्पनीको भनाइ छ।
धेरै महिला महिनावारीको पहिलो दिन शारीरिक रूपमा असमर्थ महशुस गर्ने भन्दै मुम्बईको मिडिया कम्पनी ‘कल्चर मसिन’ ले यस्तो विदा दिने नीति लिएको हो। कतिपय महिला यस्तो बेला पेट र जीउ दुखेर हिँडडुल गर्न नसक्ने अवस्थामा हुन्छन्। अस्वस्थ हुँदाहुँदै कामकाजी महिलाहरू अफिस आउन बाध्य हुन्छन्। यही अवस्थाबाट मुक्ति दिन विदाको निर्णय गरेको कम्पनीको भनाइ छ।
[caption id="attachment_61289" align="aligncenter" width="624"]
तस्बिर: रोयटर्स[/caption]
कम्पनीमा काम गर्ने ७० देखि ८० महिला यस्तो घोषणाबाट उत्साही छन्। निजी स्तरबाट सुरु भएको यो नीतिलाई भारत सरकारले पनि आधिकारिक रूपमा अवलम्बन गर्न त्यहाँका कर्मचारीले अनलाइन अभियान सुरु गरेका छन्।
‘महिला कर्मचारी पनि पुरुष जत्तिकै सक्षम हुन्छन्। तर, कहिलेकाहीँ शारीरिक कारणले उनीहरूलाई काम गर्न सकस हुन्छ। यही शारीरिक समस्यासँग जुध्न सजिलो होस् भनेर हामीले यस्तो विदा दिने नीति लिएका हौं,’ कम्पनीको मानव संशाधन विभाग प्रमुख देवलीना मजुमदारले भन्छिन्, ‘यो अनिवार्य विदा भने होइन। कुनै महिला कर्मचारीले विदा लिन चाहँदैनन् भने उनीहरू काममा आउन स्वतन्त्र छन्।’
भारतको कर्पोरेट क्षेत्रमा कुनै कम्पनीले यस्तो निर्णय लिएको पहिलोपटक हो। देशको सबभन्दा ठूलो ट्रेड युनियनले पनि यो निर्णयको स्वागत गरेको छ।
ट्रेड युनियनका तपन सेनले यो निर्णयलाई ‘मानवीय’ बताएका छन्। उनले भनेका छन, ‘व्यावसायिक रूपमा यो निर्णय सही हो कि होइन थाहा छैन, तर मानवीय रूपमा अत्यन्तै सही निर्णय हो। सबै क्षेत्रले यसको स्वागत गर्नुपर्छ।’
[caption id="attachment_61288" align="aligncenter" width="624"]
भारतीय ट्रेड युनियनका तपन सेन।[/caption]
महिनावारीको पहिलो दिन दिइने विदालाई विदाका रूपमा हेर्नै नहुने उनको भनाइ छ। ‘महिनावारी हुनु भनेको प्राकृतिक कुरा हो, त्यसैले महिलाहरूले एक दिन बढी विदा पाए भनेर सोच्ने होइन, यो प्राकृतिक कुरा हो भन्ने समाजले बुझ्नुपर्छ,’ उनले बिबिसीलाई भनेका छन्।
मिडिया कम्पनी कल्चर मसिनले यस्तो विदालाई देशव्यापी बनाउन केन्द्रीय मन्त्रीहरू प्रकाश जावडेकर र मेनका गान्धीलाई सम्बोधन गर्दै अनलाइन अभियान पनि सुरु गरेको छ।