म सामाखुसी चोकमा ऐना ब्युटी पार्लर चलाउँछु। तीन तलामाथिको ब्युटिपार्लर अगाडिपट्टि सिसा मात्र लगाएको छ। यसो बाहिर चियाउँदा चोकमा के भइरहेको छ सबै देखिन्छ।
सडक बीचमा दुई तार जेलिएका दुई पोल छन्, कहिले नाइट बसले तिनै तार चुँडालेर लैजान्छन्। खलासीले छतमा चढेर छुट्याउनुपर्छ। सडकका दुवैतिर ठूलाठूला नाला छन्। पल्लोपट्टि त हिलो पनि त्यत्तिकै छ। अलिकति पानी पर्यो भने सडक र नालामा पानी भरिन्छ। कता हिलो कता पानी केही थाहा हुन्न। त्यही थाहा नपाएर कत्ति जना नालामा पस्छन्। हिलोमा गाडिन्छन्। कोही त बाइक र स्कुटरसँगै छिर्छन्।
https://www.youtube.com/watch?v=NC9ood_wYJU
यो समस्या यो बर्खामा मात्र भएको होइन, पहिलेदेखिकै हो। परार साल राति यही नालामा छिरेकी एउटी बहिनीलाई तान्न जाँदा धन्न म आफैं बगेकी। पानी परेको दिन चोकमा नालामा २०/२५ जना त डुबेकै हुन्छन्।
नालामा नपर्नेहरु चोक छेउमा ढलको एउटा प्वाल छ, त्यसमा पनि पर्छन्। नछोपिएको त्यो प्वालमा त पानी नपरेको दिन पनि मान्छे परेका देखिन्छन्। धेरैलाई यहाँनेर प्वाल छ भन्ने नै थाहा हुन्न।
शुक्रबार पनि ठूलो पानी परेको थियो। पानी पर्यो भने कस्टमर आउँदैनन्। मेरो नन्द सुशीला थापा मगरसहित हामी तीन जना झ्यालमा बसेर भिडियो खिच्न थालेका थियौं। खासमा हामी टाइम पास गर्न र यस्तो हुन्छ भनेर देखाउन भिडियो खिचिरहेका थियौं। हामीले भिडियो खिच्नु अलि अगाडि एउटा मोटरसाइकललाई नालाबाट निकालेको थियो।
नन्द (सुशीला) ले मोबाइल समाएकी थिइन्। भिडियो खिच्दाखिच्दै एउटी बहिनी स्कुल बसबाट झरिन्। कता नाला कता सडक छुट्याउने अवस्था थिएन्। एक्कैछिनमा त उनी नालामा खसिहालिन्। म त चिच्याएँ, उनी अब बाँच्दिनन् जस्तो लाग्यो। अलि पर गएर हेर्दा उसलाई कसैले नालाबाट तान्यो। त्यतिञ्जेल पनि नन्दले मोबाइल छाडेकी रहिनछन्।
एकछिनमा हामी पसल बन्द गरेर घरमा गयौं। सधैँ मान्छे नालामा छिरेको देखे पनि त्यसरी मान्छे बगेको देखेकी थिइनँ। फेरि आफैं नानीको आमा भएकाले भोलि हाम्री छोरीलाई पनि त्यस्तै भयो भने भनेर मनमा कुरा खेलिरहे। त्यो भिडियो फेसबुकमा हाल्दिनुपर्छजस्तो लाग्यो।
अनि मैले बूढा (शरण आलेमगर) लाई भिडियो फेसबुकमा हालिदिउँ भने। यो बाटोमा हिँड्ने दुई/चार जनाले हेरे भने पनि यस्तो रैछ भनेर थाहा पाउँछन् नि भनेर बूढाले आफ्नो फेसबुकमा भिडियो हालिदिनु भयो।
एकछिनमा यति धेरै लाइक र कमेन्ट आउन थाल्यो। कमेन्ट गर्ने धेरैले राम्रै कुरा गरेका थिए। केहीले डुबेकी बालिकालाई बचाउन जान छोडेर भिडियो खिचेर बस्ने भन्दै नराम्रो पनि लेखेका थिए। गाली गरेको देखेपछि नन्दले भिडियो डिलिट गरिदिउँ भनेकी थिइन्। मैले ठीकै छ त यत्रो धेरै मान्छेले हेर्दा केहीले नराम्रो भन्छन् भनेर सम्झाएँ। तीन तलामाथिबाट हाम फालेर हामी जान पनि सक्दैनथ्यौं।
रातभरिमा भिडियो भाइरल भइसकेको रैछ। हामीले भिडियो भाइरल होला भन्ने सोचेकै थिएनौं। जे होस् त्यही भिडियो यहाँको समस्या सबैले थाहा पाए। तर भिडियो भाइरल भएर मात्र केही हुँदैन। यो भिडियो हेरेर यहाँको समस्या समाधान होस्। हामीले दिनदिनै प्वालमा मान्छे पसेको नालामा केटाकेटी खसेको देख्न नपरोस्।
(गुरुङसँग सेतोपाटीका भानुभक्तले गरेको कुराकानीमा आधारित)