बर्दियाको ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले स्वस्थ, सफा र पूर्ण पोषणयुक्त घर, गाउँ, वडा अभियान सञ्चालन गर्दै आगामी पाँच वर्षभित्र नगरपालिकालाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘विगतमा विकासको मापदण्ड पूर्वाधार विकास हुने गरेकोमा अब मानव विकास पनि महत्वपूर्ण भएको छ । हामीले दैनिक रुपमा खाने खानेकुरासँग जोडिएको पोषणलाई नगरपालिकाले कार्यक्रम योजनाकोे प्राथमिकतामा राख्नेछ,’ नगरपालिकाका मेयर धननारायण श्रेष्ठले भने ।
कुपोषणमुक्त नगरपालिका घोषणा गर्न सबै स्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिता सुनिश्चित गर्ने नगरपालिकाको प्रतिबद्धता छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले युनिसेफ र युरोपियन युनियनको सहयोगमा आज नगरपालिकामा आयोजना गरेको संघीय प्रणालीमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनसम्वन्धी अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर तथा वडाध्यक्षहरुले योसहित नौ बुँदे प्रतिबद्धता गरेका हुन् ।
सबै बालबालिकालाई अनिवार्य विद्यालय जाने वातावरण सिर्जना गरी गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, निशुल्क तथा गुणस्तरीय उपचारका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र नगरमा एक १५ शैय्याको प्रसूती सेवासहितको अस्पताल निर्माण गर्ने, गर्भवती तथा सुत्केरी आमालाई पोषण भत्ता प्रदान गर्ने, नगरभित्र स्वच्छ खानेपानीको व्यवस्था सुनिश्चित गर्ने समेत निर्वाचित जनप्रतिनिधीहरुले प्रतिबद्धता गरेका छन् ।
गत शनिबार र आइतबार देशका ११ जिल्लाका जिल्ला समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयका पोषण सम्पर्क व्यक्ति तथा कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भइसकेको र उनीहरुले सबै गाउँपालिका र नगरपालिकाका नवनिर्वाचित प्रतिनिधी तथा पदाधिकारीहरुलाई अभिमुखीकरण गर्ने मन्त्रालयका उपसचिव विजयराज सुवेदीले बताए । ‘आगामी महिनाभित्र २८ वटै जिल्लाका २९९ वटा स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरुले बहुक्षेत्रीय पोषण योजनाबारे अभिमुखीकरण पाउनेछन्,’ उनले भने ।
नेपाल सरकारले मातृ तथा शिशु पोषणको अवस्था सुधार गर्न देशका २८ जिल्लाका २९९ वटा स्थानीय तहमा बहुक्षेत्रीय पोषण योजना कार्र्यान्वयन गरिरहेको छ । नेपालमा अहिले पनि पाँच वर्षमुनिका करीव ३७ प्रतिशत बालबालिकाका कुपोषित छन् ।
कुषोषणमुक्त नगरपालिका घोषणा गर्ने औपचारिक प्रतिबद्धता गर्ने ठाकुरबाबा नगरपालिका पहिलो स्थानीय तह हो ।