भारतबाट चोरीका सवारी साधन भित्र्याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले आज महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेयले मन्त्रालयको सचिवस्तरको निर्णयबाट यातायात कार्यालयका निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहित कर्मचारी निलम्बनमा परेको जानकारी दिए । निलम्बनमा पर्नेमा यातायात कार्यालयका मेनानिकल इञ्जिनीयर दीपक थापा, नासु नरेन्द्रराज जोशी, तारादत्त भट्ट र महादेव भट्ट तथा खरिदार केशवदत्त बडू र श्यामराज ओझा छन् ।
यातायात व्यवस्था विभागको सिफारिसमा मन्त्रालयले निलम्बन गरेको विभागका प्रवक्ता पाण्डेयले जानकारी दिए । “आन्तरिक छानबिन गर्यौँ, कैफियत देखियो ”, उनले भने, “सो कार्यमा संलग्न देखिएपछि निलम्बन गरिएको हो ।” रासस