“कलेजोमा समस्या भएर बाँच्ने आशा मरिसकेको थियो, आयुर्वेदिक औषधि पाएर अहिले ठीक भएको छ”, ७७ वर्षीया कपित्रामाया लिम्बूले सुनाइन्।
तेह्रथुम पौठा–१ स्थायी घर भई हाल कोटेश्वर बस्ने लिम्बूले कलेजोमा समस्या भएर मेडिकेयर अस्पतालमा उपचार गराउनुभयो तर ठीक भएन । लिम्बूले थपिन्, “छ/सात लाख पनि सकियो अस्पतालमा, ठीक पनि भएन, आयुर्वेदिक औषधि पाएपछि अहिले ठीक छ ।”
लिम्बूको शरीरमा रातो रक्तकोष कम हुँदै गएको थियो । ललितपुरस्थित कुपण्डोल गुरुद्वारा नजिकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी उनले तीन महिना आयुर्वेदिक औषधि खाएकी थिइन्।
लिम्बू मात्र हैन, उनीजस्ता धेरैले आयुर्वेदिक औषधिबाट कलेजो समस्याबाट पुनर्जीवन पाएका छन् । बालुवाटार निवासी ८० वर्षीया मीठुदेवी उपाध्यायको पनि आयुर्वेदिक औषधि खाएर स्वास्थ्यमा सुधार आएको छ ।
मीठुदेवीका छोरा डा राजन शर्माले भने, “कलेजोको समस्याको मेडिकल औषधि छैन, आयुर्वेदिक औषधि खाँदा सुधार आएको छ, खानामा रुचि पनि बढाएको छ ।”
तनहुँ शुक्लागण्डकी नगरपालिका–११ का ४४ वर्षीय राजु भट्टराईले पनि आयुर्वेदिक औषधि खाइरहेका छन्। “आयुर्वेदिक औषधि खाइरहेको छु, अनुहारमा पनि चमक आएको छ, कालो पनि हटेको छ”, उनले भने। भट्टराई कलेजोको उपचार गर्न भनेर काममा छुटी लिएर बसेका थिए । अहिले औषधिको प्रयोगपछि काममा जान सक्ने भएका छन् ।
नवलपरासी कावासोती–२ की ३७ वर्षीया विमला कँडेलले पनि कलेजोमा समस्या देखिएपछि आयुर्वेदिक औषधि खान शुरु गरेकी छन् । “कलेजो समस्या भएर औषधि खान शुरु गरेको पाँच/छ महिना भयो, केही सुधार भएको लाग्छ तर परीक्षण गर्न बाँकी छ”, उनले भनिन्।
वैद्य राउतले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा विसं २०४६÷०४७ तिर विश्व स्वास्थ्य संगठनका सहयोगमा १५ महिने तालिम प्राप्त गरेपछि कलेजो उपचार गर्न शुरु गरेका हुन्। उनले २५ वर्षदेखि कलेजोको उपचार गर्दै आएका छन्। तीन सयभन्दा बढी व्यक्तिले उनको उपचारबाट स्वास्थ्य लाभ लिएका छन् ।
बाह्रबिसे नगरपालिका–२ मा ५८ वर्षअघि जन्मनुभएका वैद्य राउतका अनुसार कलेजो खराबीमा मद्यपानलाई दोष दिइन्छ तर मद्यपान नगर्ने व्यक्तिको पनि कलेजो बिग्रिएको पाइएको छ । “कलेजो प्रत्यारोपण नेपालीको हैसियत र पहुँच बाहिरको कुरा हो, प्रत्यारोपणपछि पनि घरमै उपयुक्त वातावरणमा बस्नुपर्ने हुन्छ, सामान्य वातावरणमा बाँच्न सकिँदैन ।”
कलेजो समस्याका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । नेपाल संसारमा नपाइने जडीबुटी पाइने भए पनि त्यसको भरपुर प्रयोग गरी जनधनको सुरक्षित गर्न सकिएको छैन । कलेजोको समस्या भएमा यसका लक्षण अल्छी लाग्ने, खाना रुचि नहुने र शरीर शिथिल हुँदै गएर छिट्टै मृत्यु हुन्छ । लक्षण थाहा पाउनेबित्तिकै स्वास्थ्य परीक्षण गरेर आयुर्वेदिक औषधि खानुपर्छ ।
कलेजो प्रत्यारोपण गर्नुपरेमा ५० लाखभन्दा बढी लाग्छ तर आयुर्वेदीय उपचार अत्यन्तै कम खर्चमा गर्न सकिन्छ । कलेजो किमो दिएकाहरुलाई भने आयुर्वेदीय उपचार गर्न मुश्किल हुन्छ ।
कलेजो मानव शरीरको सबैभन्दा ठूलो अंग हो । कलेजो, फियो, आन्द्रा र मिर्गौलाले पाचन प्रक्रियामा अन्त्यतै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । कलेजोले विषादीलाई मलमूत्रबाट फ्याँक्ने काम गर्छ । कलेजोसम्बन्धी समस्यालाई संस्कृतमा ‘कामला’, नेपालीमा ‘कमलपित्त’, अंग्रेजीमा ‘जन्डिस’ भनेर बुझिन्छ । विभिन्न कारणले कमलपित्त हुन सक्छ । कमलपित्त भएपछि रातो रक्तकोष निर्माणमा कमी हुन्छ । आयुर्वेदीय औषधि र सचेतना (आहारविहार) बाट उपचार गर्न सकिने राउत बताउँछन्। रासस