विष्णुमती सफाइको १५०औँ हप्तामा आज गोंगबु नयाँ बसपार्क क्षेत्रमा विशेष सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा तीन हजार ५०० को सहभागिता थियो । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि सफाइमा सहभागी थिए ।
सफाइपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकृतिलाई बिगार्ने क्रम बढेकाले सुधार्न सफाइ अभियानको योगदान महत्वपूर्ण हुने बताए । प्रदूषणले रोग निम्त्याउने भएकाले पनि सफाइमा सबैको सहभागिता हुनुपर्नेमा उनले जोड दिए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले उपत्यकामा सफाइ अभियानबाट देखिने काम भएको बताउँदै राजधानी सहरको प्रतिष्ठा बढाउन पनि सफाइ अभियानलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए।
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नदी संस्कृतिको अंग भएकाले सहर जोगाउन नदी संरक्षण गरिनुपर्ने धारणा व्यक्त गरे।
राप्रपाकी नेत्री कुन्तीकुमारी शाहीले उपत्यकाको सभ्यताको स्रोत नदी संस्कृतिलाई जीवन्त बनाउन सफाइ अभियानले महत्वपूर्ण भूमिका खेलेको बताइन्।
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उपस्थित सफाइ अभियन्तालाई शपथ खुवाउँदै नदी सफाइ अभियानलाई निरन्तरता दिएर आफूले लिएको शपथ पूरा गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा सचिवद्वय दीपेन्द्रनाथ शर्मा र विश्वनाथ ओली, कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेललगायतको सहभागिता थियो ।
सो अवसरमा बूढानीलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकाका प्रमुख क्रमशः उद्धवप्रसाद खरेल, प्रकाश अधिकारी र रामेश्वर बोहरालाई वडास्तरमै विष्णुमती सफाइ अभियान चलाउन प्रतीकात्मकरुपमा जिम्मेवारी हस्तान्तरण गरिएको सफाइ अभियन्ता एवं गायत्री परिवारका डा राजु अधिकारीले जानकारी दिए । रासस