प्रधानमन्त्रीले १५ दिनभित्र खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ८ दिन बित्दा चक्रपथभित्रका करिब ५८ प्रतिशत खाल्डाखुल्डी पुरिएका छन्।
मेलम्ची खानेपानी आयोजना, सडक विभाग र महानगरले सडकका खाल्डा पुर्ने काम गरिरहेका छन्।
मेलम्ची खानेपानी आयोजनाले सोमबार बिहानसम्म ५८ प्रतिशत खाल्डाखुल्डी पुरिसकेको जनाएको छ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार जैनभवन, ज्ञानेश्वर, रातोपुल, राममन्दिर, बत्तीसपुतली र गौशाला क्षेत्रका खाल्डाखुल्डी पुरेर सकिएको छ भने तीमध्ये केहीमा कालोपत्रे पनि भइसकेको छ भने केहीको हुन बाँकी छ।
उनले जुलाई ३१ गते सक्ने गरी सबै ठाउँमा तालिका बनाएर काम भइरहेको बताए।
‘हामीलाई अहिले मुख्य समस्या ग्राभेल गर्न ढुंगा गिटीको अभाव भइरहेको छ’, खत्रीले भने, ‘भनेजति ढुंगा गिटी नपाउँदा चावहिल क्षेत्रमा त दुई दिन कामै रोकियो।’
यसैगरी सडक विभागले पनि नारायण गोपाल चोक–बाँसबारी सडकका खाल्डाखुल्डी पुरिसकेको छ भने धोबीखोला–चाबहिल, रत्नपार्क–केशरमहल सडकका खाल्डाखुल्डी पुरेर कालोपत्र गर्न लागेको जनाएको छ। कमलपोखरी, बागबजार, नारायणथान लगायतका ठाउँमा पनि खाल्डा पुर्ने काम धमाधम भइरहेको विभागले जनाएको छ।
मेलम्ची आयोजनाले चाबहिल, चुच्चेपाटी, धोबीखोला, गौशाला, रातोपुल, भोटाहिटी, लैनचौर र नारायणगोपाल चोकदेखि बाँसबारीसम्मका खाल्डा पुर्ने जिम्मा पाएको छ भने चाबहिल–गौशाला, थापाथली–माइतीघर, चक्रपथ र कलंकी–नागढुंगा सडकका खाल्डाखुल्डी पुर्ने जिम्मा सडक विभागलाई दिइएको छ।