तिलोत्तमा नगरपालिकाअन्तर्गत शंकरनगर सामुदायिक वनमा बाघ पत्ता लगाउन आज बिहान सिसिटिभी क्यामरा जडान गरिएको छ ।
जिल्ला वन कार्यालयको नेतृत्वमा डब्लुडब्लुएफका वन्यजन्तु अनुसन्धान अधिकृतसहित दुई दिनदेखि शंकरनगर क्षेत्रमा खटिएका प्रविधिज्ञ टोलीले सिसिटिभी क्यामरा जडान गरेको हो ।
सो क्षेत्रमा रहेका बाघ बाँदरसँग लडेको स्थानीयवासीले देखेपछि सामुदायिक वनमार्फत आएको टोलीले बाघ हिँडेको क्षेत्र निरीक्षण गर्नाका साथै सर्भेको काम दुई दिनमा सम्पन गरेको थियो ।
सहायक वन अधिकृत गिरिप्रसाद गैरेले सो क्षेत्रमा ५० सिसिटिभी क्यामरा जडान गरिएको जानकारी दिए। बाघ बस्नसक्ने संभावित क्षेत्र, हिँडडुल गर्ने जैविक मार्ग, आहार गर्ने क्षेत्रलगायत स्थानको अनुसन्धान गरेको टोलीले जडान गरेका क्यामरा यही साउन ३० गतेसम्म रहनेछन् ।
ती क्यामरा फरक फरक ठाउँमा रहनेछन् । बीच बीचमा हेर्ने र फेर्ने काम प्राविधिक टोलीले गर्नेछ । शंकरनगर सामुदायिक वन, रामनगर सामुदायिक वन बुटवल, करहिया सामुदायिक वनलगायत वन क्षेत्रमा बाघको अनुगमन अनुसन्धान सुरु भएको गैरेले बताए । रासस