मेरो घरको पजरामा बड्का गाछी छ
हमरा मालपोत जायके छै
यी वाक्यहरू हुन् – मिथिलाञ्चलमा नेपाली र मैथिली भाषीको समृद्ध जीवन शैलीको । यस्ता केयौँ वाक्य प्रचलनमा रहेका छन्, जसले दुवै भाषाभाषीको सामाजिक, सांस्कृतिक र भाषिक सहअस्तित्वको चिनारीलाई स्थायित्व प्रदान गर्दै एक सूत्रमा आबद्ध गर्ने वातावरण निर्माण गरिरहेको छ ।
मिथिलाञ्चलमा नेपाली र मैथिली भाषाभाषीले एकअर्काको संस्कृति र परम्परालाई स्वीकार गर्दै सामञ्जस्य र आपसी सद्भावपूर्ण सामाजिक जीवन व्यतित गरी संस्कृतिको अविभाज्य अंग भइरहेको छ ।
संस्कृति जिन्दगीको एउटा तरिका हो जो शताब्दियौँदेखि जम्मा भएर समाजमा व्याप्त रहन्छ भन्ने मान्यताअनुरूप यस भेगमा बसोबास गर्ने दुवै भाषाभाषी एक अर्कासँग यति घनिष्ट छन् कि सांस्कृतिक र धार्मिक परम्पराहरूमा मात्र नभएर भाषामा पनि दुवै समुदाय एक अर्कासँग प्रभावित छन् ।
यहाँका मैथिली भाषीले आपसमा कुरा गर्दा नेपाली शब्दको पनि प्रयोग गर्ने गरेको पाइन्छ । मैथिली भाषामा बोल्दा हमरा मालपोत जायके छै र नेपाली भाषामा बोल्दा मेरो घरको पजरामा बड्का गाछी छ लाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।
त्यस्तै उखानमा मैथिली भाषामा उँटके मुँहमे जिरा, कुप नआबए पथिकके पास, अपने निक त आनो निक र नेपालीमा हात्तीको मुखमा जिरा, खोला आउँछ कि तिर्खा ? आफू भलो त जगतै भलो जस्ता उखान मनन योग्य रहेको छ ।
मिथिला र काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्बन्ध अत्यन्त प्राचीन रहेको छ । मुसलमानी आक्रमणको बेला मिथिलाको अनेक विद्वान परिवार आफ्नो एवम् हस्तलिखित ग्रन्थको रक्षा तथा जीवन निर्वाहका लागि नेपालतर्फ प्रवेश गरेका थिए । मल्ल राजा जयस्थिति मल्लले सामाजिक वर्गीकरण र वर्णाश्रम धर्मलाई कायम गर्न मिथिलाका विभिन्न विद्वान्सँग सहयोग लिएको पनि पाइन्छ ।
मल्लकालमा राजाहरू स्वयंले मैथिली साहित्य र परम्पराको विकासका लागि ठूलो योगदान पुर्याएको कुरा मल्ल राजाहरूले लेखेका नाटक, भक्ति गीत संग्रहहरूले प्रमाणित गरेका छन् ।
एकीकरणपश्चात् उपत्यका र यस क्षेत्रका बीच सांस्कृतिक र धार्मिक निकटता कायम भयो । उपत्यका र अन्य पहाडी भेगबाट अनेक नेपाली भाषाभाषी मिथिलाको समतल फाँटमा कृषि कर्म वा जागिरेका रूपमा बसाइँ सराइका क्रममा आएर बसोबास गर्न थाले । हाल मिथिला क्षेत्रमा मैथिलीमात्र नभएर नेपाली भाषाभाषीको पनि आधिक्य छ ।
प्राचीनकालदेखि नै मिथिलामा वर्णाश्रम धर्म अस्तित्वमा रहेको देखिन्छ । देवीदेवताहरूमा शिवशक्ति तथा विष्णुलाई कालान्तरमा राम र सीता आदिलाई पनि देवदेवीका स्वीकार गरेर पूजा गर्ने परम्परा पाइन्छ । धार्मिक परम्पराको प्रभावले नेपाली भाषाभाषीहरूमा शिवप्रति विशेष श्रद्धा रहेको र प्रत्येक वर्ष वैद्यनाथ धाममा जल चढाउने आस्था देखिन्छ ।
संस्कृतिविद् डा राजेन्द्र विमल वेशभूषा र खानपानको सम्बन्धमा पनि मैथिली भाषाभाषीबाट यस क्षेत्रका नेपाली भाषाभाषीहरू प्रभावित रहेको बताउँछन्।
यस भेगका स्थानीय पोशाक धोती र कमिज नेपाली भाषाभाषी समुदायमा लोकप्रिय रहेको र यसका साथै नेपाली भाषाभाषी महिलाले आफ्नो पारम्परिक पोशाक गुन्यू, साडी, चोलो र पटुका त्यागेर विशेष प्रकारले साडी र चोलो लगाउने चलन रहेको छ जुन यस भेगका मैथिली भाषाभाषी महिलाले लगाउने गरेको प्रभाव हो ।
घरमा आएका पाहुनालाई विभिन्न प्रकारका अचार, तरकारी र स्वादिष्ट भोजनद्वारा स्वागत गर्नु मैथिल समाजको विशेषता छ । मैथिल गृहिणी पाक कलामा ज्यादै दक्ष हुने र विभिन्न प्रकारका अचार, चटनी र तरकारीलाई तारेर अतिथिलाई स्वादिष्ट र रुचिकर भोजनद्वारा सत्कार गर्न सिपालु हुन्छन् । यसको प्रभावस्वरूप यहाँका नेपाली भाषाभाषी परिवारमा पनि विभिन्न प्रकारका तरकारीलाई तारेर अतिथिलाई भोजन गराउने परम्परा रहेको देखिन्छ ।
मैथिल समाजमा विभिन्न प्रकारका ठट्यौली परम्परा पनि छ । भिनाजु र साला, देवर र भाउजू, साली र भिनाजुबीच ठट्ठा र ख्याल गर्ने चलन छ र यो चलन यहाँका नेपाली भाषाभाषीमा पनि रहेको पाइन्छ । विवाह तथा चाडपर्वका अवसरमा मैथिली भाषाभाषी महिलामा मेहँदीले हात खुट्टा सिँगार्ने चलन लोकप्रिय छ भने यो चलन नेपाली भाषाभाषीमा पनि उत्तिकै लोकप्रिय रहेको बताइन्छ ।
यस्तै विभिन्न संस्कारअन्तर्गत चूडाकर्म, यज्ञोपवित, विवाह आदिमा दुवै भाषाभाषीमा मातृका पूजा गर्ने चलनसमेत छ । नवरात्रिका अवसरमा आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुवै समुदायमा नवदुर्गाको व्रत घटस्थापना गरेर नियमित पूजा गर्ने र दुर्गा सप्तशतीको पाठ गर्ने चलन पनि देखिन्छ । विजयादशमीका दिन मातापिता तथा मान्यजनबाट जमरासहितको टीका ग्रहण गर्ने दुवै समुदायमा चलन रहेको पाइन्छ ।
यसका साथै दीपावली दुवै समुदायले समानरुपमा मनाउने परम्परा छ । भाइटीकाका दिन दिदीबहिनीले व्रत लिएर दाजुभाइको दीर्घायुका लागि निधारमा टीका लगाइदिने परम्परा पनि दुवै समुदायमा पाइन्छ । यस अवसरमा एक अर्काको परम्परालाई स्वीकार गर्दै मैथिली भाषाभाषी परिवारमा पनि सेल र नेपाली भाषाभाषी परिवारमा समेत अनरसाजस्ता पकवान बनाउने चलन पनि छ ।
छठ मनाउने परम्परा विशुद्धरूपले मैथिल समाजमा प्रचलित परम्परा भए पनि नेपाली भाषाभाषीहरूले यस क्षेत्रमा बसोबास गर्न थालेपछि यस परम्पराबाट प्रभावित भएर छठ मनाउन थालेको पनि देखिन्छ ।
नेपाली भाषाभाषी विवाहित महिलामा पोते लगाउने परम्परा ज्यादै लोकप्रिय रहेको छ । यो परम्परा हाल मैथिली भाषाभाषी महिलाले पनि स्वीकार गरेको देखिन्छ, जुन यस भेगमा नेपाली भाषाभाषी परम्पराको प्रभाव हो संस्कृतिविद् डा विमल भन्छन्।
यसका अतिरिक्त अन्य अनेकौँ यस्ता परम्परा र पर्व छन्, जुन मैथिली र नेपाली भाषाभाषीमा समानरूपले लोकप्रिय रहेको र दुवै समुदायले संयुक्तरूपमा मनाउने गरेको पनि पाइन्छ ।
उपत्यकाका नेवार कन्याहरूको पुरुषसँगको विवाहभन्दा पहिले बेलसँग विवाह गर्ने चलन छ भने यहाँका मैथिल ब्राह्मण र कायस्थ कन्याहरूको पनि पुरूषसँगको विवाहभन्दा पहिले आँप र महुवाको रुखसँग विवाह गर्ने चलन छ ।
त्यस्तै माघी पर्व, तीज, फागु, शिवरात्रि, चौरचन, जुडशीतल, रक्षाबन्धन यस्ता पर्व छन् जुन दुवै भाषाभाषीका परिवारले मनाउने गरेको घनिष्टतालाई पुष्टि गरिरहेको छ । रासस