काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ ।
वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवत्को नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।
धर्म सञ्चय गर्ने महिनाका रुपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ । भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।
प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन् । स्वयम्भू क्षेत्रमा सरसफाइका साथै खानेपानी व्यवस्था मिलाइएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले बताए ।
सो पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककालदेखि नै अभ्यासमा रहेको जनविश्वास छ ।
महासमितिले त्यहाँ आउने भक्तजन तथा तीर्थयात्रीको सुविधाका लागि आवश्यक स्वयंसेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्य तथा त्यस वरपरका केही सम्पदा गत वर्षको भूकम्पका कारण जीर्ण भई पुनःनिर्माणका क्रममा छन् ।
भृकुटीमण्डपस्थित बुद्ध विहारका प्रमुख भिक्षु कौडण्यले एक महिनासम्म चल्ने सो पर्वअन्तर्गत वज्रयानी परम्परामा विश्वास गर्ने बौद्ध धर्मावलम्बीले नाम संगीति तथा थेरवादी परम्परामा विभिन्न विहारमा ध्यान, साधना तथा धर्म उपदेश हुने जानकारी गराए । यसै अवधिमा हिन्दूको जनैपूर्णिमा, गाईजात्राका साथै तीजलगायत पर्व पर्ने गर्छ भने बौद्ध मार्गीले पञ्चदान पर्व मनाउने गर्छन् ।
बौद्ध विद्वान् भिक्षु तपस्सी धम्मकाअनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन रहेको र त्यही सेवालाई कालान्तरमा ‘गुँला धर्म’ भनिएको हो । भाषा वंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो परम्परा चलाएका हुन् । रासस