शाइलकुमार उपाध्याय एण्ड करेन बास ट्रष्टद्वारा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यान्स) वीर अस्पतालमा ३५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
कोषमा जम्मा भएको रकमको वार्षिक ब्याजबाट क्यान्सर रोग लागेर उपचार गर्न समस्यामा परेका विपन्न तथा गरिब परिवारका बिरामीलाई केमोथेरापी औषधि प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
विदुषी राणाले आफ्ना ठूलोबुबा संयुक्त राष्ट्रसंघका पूर्वकूटनीतिज्ञ स्व शाइलकुमार उपाध्याय र उनकी प्रेमिका स्व करेन बासको सम्झनामा तीन महिनाअघि सो ट्रष्ट स्थापना गरेकी हुन् । उनी ट्रष्टकी सदस्य पनि हुन्।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले न्यान्सका उपकुलपति डा गणेश गुरुङलाई उक्त रकमको चेक आज एक कार्यक्रमबीच हस्तान्तरण गरे।
सो अवसरमा पूर्वस्वास्थ्यमन्त्री थापाले स्व उपाध्यायले अमेरिकामा बसेर ‘एलाइन्स फर डेमोक्रेसि’ अभियानमार्फत नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए।
“नेपालका प्रजातान्त्रिक आन्दोलनका अभियन्तालाई पनि उहाँले सहयोग गर्दै आउनुभएको थियो, पुराना प्रजातान्त्रिक व्यक्तित्वले आज पनि उहाँलाई सम्झनुहुन्छ”– उनले भने।
पूर्वमन्त्री थापाले आफू मन्त्री हुँदा क्यान्सरका लागि सहयोग रकम बढाउन खोजेको भए पनि चिकित्सकको सल्लाहमा क्यान्सर प्रोटोकल बनाइएको बताउँदै भने “क्यान्सरको अवस्था फरक हुने भएकाले उपचारबाट कसैले बञ्चित हुन नपरोस् भनी प्रोटोकल बनाइएको हो, अब आउने नयाँ मन्त्रीले यो कुरालाई अगाडि बढाउनुहुन्छ भन्ने मलाई विश्वास छ।”
न्याम्सका उपकुलपति डा गणेश गुरुङले कोषमार्फत लक्षित बिरामीलाई सहयोग प्राप्त हुने बताउँदै वीरमा आउने बिरामीमध्ये ७० प्रतिशतको उपचार निःशुल्क हुने र बाँकी बिरामीले पनि कम शुल्कमा उपचार सेवा प्राप्त गर्ने गरेको जानकारी दिए।
क्यान्सर रोगको उपचारलाई अझ स्तरीय बनाउन विश्वकै उत्कृष्ट टोमोथेरापी मेसिन ल्याउन प्रक्रिया सुरू भइसकेकाले आगामी चार महिनाभित्र सो मेसिन अस्पतालमा आइसक्ने पनि उनले बताए।
क्यान्सरले बिरामीलाई स्वयं मात्र नभई सिङ्गो परिवारलाई पनि विक्षिप्त बनाउने भएकाले महँगो उपचारका कारण उपचार नपाई कसैले ज्यान गुमाउन नपरोस् भनी कोष स्थापना गरेको बताउँदै ट्रष्टकी सदस्य राणाले बताइन्। रासस