बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सांसद रञ्जीत कर्णको पहलमा आयोजित सो शिविरमा बाढीबाट प्रभाजित एक हजार ५०० गरिब तथा विपन्न वर्गका व्यक्तिलाई स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधिसमेत वितरण भएको बताइएको छ ।
नोबेल मेडिकल कोलेज विराटनगरले सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको सो शिविरमा सप्तरीको विभिन्न खोला र नदीमा आएको बाढीले प्रभावित मैनाकडेरी, भेडिया, पोर्ताहा, भारदह, तिलाठीलगायतका ठाउँका बाढीपीडितलाई निःशुल्क उपचार गराइएको नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।
खोप अभावः
यसैबीच सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कुकुरको टोकाइले लाग्ने रेबिज रोगको विरुद्ध लगाइने खोपको अभाव भएको छ । विगत चार महिनादेखि सो खोपको अभाव भएको अस्पतालले जनाएको छ ।
दैनिक आठदेखि १० जना कुकुरले टोकेको बिरामी सो अस्पतालमा उपचारको लागि आउने गरेको बताइएको छ । अस्पताल प्रशासनका अनुसार रेबिजविरुद्धको खोप माग गरिएको र छिट्टै आउने बताइएको छ । रासस