पथरीशनिश्चरे र झापाको दमकमा बसोबास गर्दै आएका स्वदेश फर्कन चाहने भुटानी शरणार्थीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाई शरणार्थीले स्वदेश फर्कन पाउनुपर्ने अन्तर्राष्ट्रिय नियमअनुसार आफूहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् ।
भुटान स्वतन्त्र जनमञ्चले इमेलमार्फत प्रधानमन्त्री देउवालाई स्वदेश फर्कन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । आफूहरूले स्वदेश फर्कन चाहनेहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनमञ्चका महासचिव डिबी सुब्बाले जानकारी दिए।
उनले पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारी निकायले आफूहरूको मागका सम्बन्धमा बेवास्ता गरेको आरोप लगाए। मोरङ र झापामा रहेका शिविरमा अहिले करिब १२ हजार भुटानी शरणार्थी छन् । युरोप, अमेरिका र अष्ट्रेलियामा करिब ७० हजार भुटानी शरणार्थी गइसकेका छन् । रासस