खोलाले बगाएर र भिरबाट लडेर नुवाकोटमा दुई जनाले ज्यान गुमाएका छन् ।
अविरल वर्षासँगै अमारे खोल्सामा आएको बाढीले बगाएर तादी गाउँपालिका–४ साविक सुन्दरादेवी गाविस–२ का रामबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
शुक्रबार साँझ ६ः३० बजेतिर खोलाले बगाएको ६० वर्षीय श्रेष्ठलाई खोजी गर्ने क्रममा ३०० मिटर तल खोल्सा किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्ण विष्टले जानकारी दिए। सातबिसे बजारबाट घर फर्कदै गरेका श्रेष्ठले बाढी आइरहेको खोल्साबाट तर्न खोज्दा बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै, दुप्चेश्वर गाउँपालिका–६ साविक समुन्द्रटार गाविस–४ स्थित नौबिसे भिरबाट लडेर ७३ वर्षीया विष्णुकुमारी कुइँकेलको मृत्यु भएको छ । घरबाट खेततर्फ जाँदै गरेका कुइँकेलको भिरबाट लडेर घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । रासस