लोपोन्मुख सोनाहा समुदायले आफूहरुलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेका छन् ।
माछा मार्ने, ढुंगा चलाउने र सुन चाल्ने परम्मपरागत पेशा अँगालेर बसिरहेको ती लोपोन्मुख समुदाय अहिलेसम्म कुनै जातीय समूहमा सूचीकृत नहुँदा उनीहरुको जातीय पहिचानका साथै गाँस, बाँस र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिका सुरक्षामा समास्या परेको नेपाल सोनाहा संघले जनाएको छ ।
बर्दिया कैलाली र कञ्चपुरमा एक हजार २०० सोनाहा जातिका बसोबास छन् । नदीमा सुन चाल्ने पेशा संकटमा परेपछि उनीहरु आदिवासी जनजातिमा सूचीकृत गर्न माग गर्दै आएका छन् तर यो माग सुनुवाइ नहुँदा राज्यबाट प्राप्त हुने सेवा सुविधा लिन नसकेको संघले जनाएको छ ।
सूचीकरणको माग राख्दै गत वर्ष सर्वोच्च अदालतमा मुदा दायर गरेको नेपाल सोनाहा संघका महासचिव टेकबहादुर सोनाहले जानकारी दिए। “हामी कुन जातीय समूहमा पर्छौं? त्यो प्रष्ट नभएपछि हाम्रो जातिको पहिचान नै संकटमा परेका छ,” उनले भने– “हाम्रो जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न र सामाजिक सुरक्षा प्रदान गर्न सरकार गम्भीर हुनुपर्छ ।” रासस