स्रोत नखुलेको अधिक सम्पत्ति थुपारेको भन्दै अदालतको आदेशअनुसार नवाज शरिफ पाकिस्तानी प्रधानमन्त्रीबाट बाहिरिएपछि अब त्यहाँको सत्ता कसको हातमा जाला भन्ने अड्कलबाजी सुरु भएको छ।
यो अड्कलबाजीमा नवाज शरिफकै कान्छा भाइ, छोरी र निकटहरुकै चर्चा छ।
मुस्लिम लीग पार्टीले भावी प्रधानमन्त्रीका रुपमा केही व्यक्तिहरुमाथि छलफल सुरु गरिसकेका छन्।
छलफलमा रहेका छ जना नेतामध्ये नवाज शरिफकै भाइ शेहवाज शरिफ भावी प्रधानमन्त्री हुने सम्भावना बढी रहेको स्थानीय समाचारमाध्यमले जनाएका छन्।
उनलाई केही साताको निम्ति अन्तरिम प्रधानमन्त्री नियुक्त गरेर आधिकारीकरुपमा निर्वाचित गर्ने तयारी छ। शरिफ परिवारका कान्छा शेहवाज हाल पाकिस्तान पन्जाब प्रान्तका मुख्यमन्त्री छन्।
छलफलको सूचीमा नवाजका भाइ मात्र होइन उनकी छोरी मरयम शरिफको पनि नाम छ। मरयम हाल कुनै सार्वजनिक पदमा छैनन्। उनीमाथि पनि भ्रष्टाचार मुद्दा चलिरहेको छ।
त्यस्तै, रक्षामन्त्री ख्वाजा मोहम्मद आशिफलाई पनि भावी प्रधानमन्त्रीको दावेदार मानिएको छ। पूर्व बैंकर आशिफ नवाज शरिफका निकट मानिन्छन्। सन् १९९१ देखि उनी लगातार विभिन्न सार्वजनिक पदमा रहँदै आएका छन्।
राष्ट्रिय सभाका सभामुख सरदार अयाज शादिक अर्का दावेदार हुन्। उनी पनि शरिफ परिवारको निकट मानिन्छन्।
अमेरिका पढेर पाकिस्तान फर्की राजनीतिमा लागेका एहशान इकबाल पनि शरिफको पार्टीमा आवद्ध राजनीतिक परिवारसँग सम्बद्ध छन्। दूरदर्शी नेताको रुपमा परिचय बनाएका इकबाल पार्टीका योजनाकार मानिन्छन्। उनले हाल संघीय योजना तथा विकास मन्त्रालय सम्हालेका छन्।
चौधरी निशार अली खान पनि प्रधानमन्त्रीका दावेदार थिए। तर, शरिफसँग उनको सम्बन्ध चिसिएपछि उनको चर्चा सेलाएको छ।