स्रोत साधनको अभाव र पर्याप्त ज्ञान नभएर कमजोर बनेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार्न मेयर विद्या सुन्दर शाक्यले सुझाव अघि सारेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा सोमबार भएको कार्यक्रममा बोल्दै मेयर शाक्यले ट्राफिक अस्तव्यस्त भएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका हुन्।
सबैको प्रयासबाट मात्र ट्राफिक व्यवस्थापन सम्भव हुने भन्दै महानगरले साना गाडीलाई विकल्पसहित हटाएर ठूला गाडी भित्र्याउन लागेको जानकारी उनले दिए।
त्यस्तै, सार्वजनिक सवारीसाधनका लागि ‘पिक एण्ड ड्रप’ सेन्टरहरु बनाउनुपर्ने उनले सुझाव दिए। स्वदेशी कम्पनीहरुलाई सुविधा सम्पन्न पार्किङ मल बनाउन उनले आग्रह गरे।
न्युरोड र टेकुमा नगरपालिकाको जग्गा भएको जानकारी दिदैं उनले विदेशी कम्पनी पार्किङ बनाउन आएपनि स्वदेशीलाई नै दिने मनसाय रहेको बताए।
मेयर शाक्यले चालकलाई मिटरमा मात्र ट्याक्सी गुडाउन अनुरोध पनि गरे। यात्रु कुर्ने सवारीसाधनलाई कारबाही गर्दा जाम कम हुने उनको बुझाइ छ।
ट्राफिक व्यवस्थापनमा मोनो रेलको भूमिका महत्वपूर्ण हुने विश्वास प्रकट गर्दै शाक्यले भने, ‘मोनो रेल आउँछ, आउँछ। यसको लागि डिपीआर सुरु भइसकेको छ।’
सरकारले भूकम्पपीडितलाई दिएका १५ सय ट्याक्सीले झनै जाम बढाउने भनाइ शाक्यले राखे। उनले यो प्रक्रिया राम्ररी व्यवस्थापन गर्न जहाँका पीडित हुन् त्यहीँ व्यवसाय गर्न दिनुपर्ने सुझाव दिए। सबैलाई काठमाडौंमै ल्याएर राख्न नहुने उनको भनाइ थियो।
काठमाडौंको ट्राफिक व्यवस्थापन जटिल र समस्यापूर्ण भएको आलोचना आइरहेका बेला समाधानका उपायबारे छलफल गर्न ट्राफिक महाशाखाले सो कार्यक्रम गरेको हो।
काठमाडौंमा आकाशेपुलमाथिका फुटपाथ व्यवसायदेखि बत्ति व्यवस्थापन नहुनु र व्यवस्थापनमा जनशक्तिको अभाव चुनौती बनेको छ।
काठमाडौंमा ८ लाख २८ हजारभन्दा बढी सवारी साधन र २५ लाखभन्दा बढी जनसंख्या छ।
ट्राफिक व्यवस्थापनमा १ हजार ८५ जना ट्राफिक प्रहरी खटिएका छन्। एक जनाको करिब ७ सय ६३ वटा सवारी साधन रेखदेख गर्ने जिम्मेवारी हुन्छ।
थोरै संख्यामा रहेका ट्राफिक प्रहरीले अव्यवस्थित र जीर्ण सडकमा रहेर धरै सवारी साधन व्यवस्थापन गर्न कठीन भएको जानकारी महाशाखाले कार्यक्रममा दिएको छ।