सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजु र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्तरुपमा गरेको अनुगमनमा न्यू निशान सप्लायर्स नागार्जुन, जोरगणेश हार्डवेयर स्वयम्भू र अरनिको हार्डवेयर ट्रेडर्स ढुङ्गेधाराले ठगी गरेको पाइएको हो ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुका प्रमुख शशीभुषणकुमार यादवले आधा किलोदेखि आठ किलोसम्म कम तौल बनाएर ठगी गरेको भेटिएको बताए । न्यू निशान सप्लायर्सले बेच्दै आएको सिमेन्टमध्ये सिद्धार्थ सिमेन्टमा आधा किलो, अल्ट्रा र जगदम्बा सिमेन्टमा तीन किलोसम्म कम सिमेन्ट पाइएको छ ।
जोरगणेश हार्डवेयर स्वयम्भूले बिक्री गरेको ब्रिज सिमेन्टमा दुई किलो र अरनिको हार्डवेयर ट्रेडर्स ढुङ्गेधाराले बिक्री गरेको एडभान्स पावर सिमेन्टमा तीन किलोसम्म कम भेटिएको नापतौल कार्यालयले जनाएको छ ।
सरकारी क्षेत्रबाट उत्पादित सिमेन्टमा पनि ठगी गरेको पाइएको छ । सरकारको लगानी रहेको उदयपुर र हेटौँडा सिमेन्ट कारखानाबाट उत्पादित सिमेन्टमा पनि पाँच किलोसम्म कम सिमेन्ट भेटिएको कार्यालयका प्रमुख यादव बताउँछन् ।
अरनिको हार्डवेयर ट्रेडर्सका सञ्चालक नच्छेलाल श्रेष्ठ कम्पनीले नै बोरामा कम सिमेन्ट भरेर पठाएको बताउँछन्। “एउटै कम्पनीको सिमेन्टमा कुनै बोरामा ४८ किलो र कुनै बोरामा ५२ किलो भएको पाइएको छ,” उनले भने।
हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका अध्यक्ष रघुरमण न्यौपाने हेटौँडा सिमेन्टले सिमेन्ट कम राखेर बिक्री नगरेको बताउँछन्। उनी,“हामी जनताको सेवा गर्न बसेका हौँ, कसरी जनतालाई ठग्न मिल्छ, म उपभोक्तालाई जोखेर लिन आग्रह गर्छु ।” कतिपय बिक्री केन्द्रले नापतौल सम्बन्धी यन्त्रको समेत अनुमतिपत्र नलिएको अनुगमनका क्रममा भेटिएको छ । रासस