सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी आर्ट अगाडिको वस्ती डुबानमा परेको छ ।
परम्परागत रुपमा सयौ वर्षअघिदेखि बग्दै आएको पानीको निकास टालिदिएपछि विगत दुई सातादेखि १० घर रहेको यहाँको वस्ती डुबानमा परेको हो ।
सडक विस्तारका क्रममा पानी निकासका लागि परम्परागतरुपमा बग्दै आएको स्थान मै ढल राखेर व्यवस्थित गरेपनि रातिको समयमा अज्ञात व्यक्तिले ढलभित्रै ढलान गरेर निकास बन्द गरिदिएपछि वस्ती डुबानमा परेको हो ।
वस्ती डुबानमा परेपछि घरमा ओहोरदोहोर गर्न समेत समस्या परेको र पानी पसेर विद्युत आपूर्ति गडबड हुने डरले विद्युत्को लाइन नै बन्द गरेर बस्नुपरेको पीडित स्थानीय संगीता पोखरेलले बताइन्।
दुई सातादेखि स्थानीयवासी संगीता पोखरेल, सुमित्रा कार्की, रमेशकुमार भट्टराई, उर्मिला थापा, निरन परियार, गोमा कर्णलगायतका १० वटा घर डुबानमा परेका छन् ।
उनले भने – “पुरानो नौ वडादेखिको पानी बगेर आउने गरेको तर निकास बन्द गरिदिएपछि बस्ती डुबानका परेको हो । डुबानका कारण दैनिक सास्ती खेप्नुपरेको छ ।”
स्थानीयवासीले कसले निकास बन्द गराएको हो भन्ने थाहा नपाएको बताएका छन् । निकास खोल्न वडा कार्यालय र डिभिजन सडक कार्यालयमा आवेदन दिँदा पनि समस्याको समाधान नभएको उनीहरुको गुनासो छ ।
आज डिभिजन सडक कार्यालयका इन्जिनियरको टोलीले डुबान र निकास बन्दको अनुगमन गर्यो ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले परम्परागत रुपमा बग्दै आएको पानीको निकास टालिदिएको पाइएको बताउँदै स्थानीय निकायलाई यो समस्याको समाधान गरिदिन आग्रह गरे।
निकास खोल्न आवश्यक पर्ने मेसिन र सामग्री कार्यालयले उपलब्ध गराइदिने वचन उनले दिए । रासस