सल्यानको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
दार्मा गाउँपालिका– ३ मा रहेको जनज्योति उच्च माध्यमिक विद्यालय फारुलाचौरका विद्यार्थीले शैक्षिकसत्र आधा बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन् ।
विद्यालय प्रशासनसँग पटकपटक आफ्ना माग सुनुवाइ नभएकाले विद्यालयमा ताला लगाइएको विद्यार्थी दलबहादुर दाहालले जानकारी दिए । विद्यालयमा स्वच्छ खानेपानी तथा शौचालय निर्माण तथा खेल सामग्रीतर्फ पनि प्रशासनको ध्यान नगएको विद्यार्थीको गुनासो छ ।
आफूहरुको माग सुनुवाइ नभए ताला नखोलिने दाहालले जानकारी दिए । विद्यालय प्रशासनले विद्यार्थीका जायज माग पूरा गर्न तयार रहेको बताएको छ । रासस