नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको झोलुंगे पुल गए रातिको बाढीले बगाएको छ ।
फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोटपट्टिको भाग बगाएको हो । पुलको एकापट्टिको जिप नै बगाइएपछि खोला बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी शशिकुमार डंगोलले बताए । फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला बस्तीमा पस्न सक्ने खतरा बढेको हो ।
पुलको नुवाकोटपट्टिको भाग भत्काएकाले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोडिएका घरसमेत भत्काउन सक्ने स्थानीयवासीले बताएका छन् । पुल बगाएपछि खोलाको बहाव नुवाकोटपट्टि बढी आएकाले बस्ती जोखिममा परेको स्थानीय गोसाइँकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताए।
साठी वर्षभन्दा पुरानो सो पुल पक्की पुल बनेसँगै पछिल्ला केही दशकदेखि प्रयोगविहीन अवस्थामा थियो । आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्नुपर्छ भन्दै स्थानीयवासीबाट केही वर्षअघि पुल मर्मत गरिएको थियो । रासस