सोलुखुम्बु हुँगा नदीको कटानका कारण सुरू भएको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बुङका सात घरपरिवार विस्थापित भएका छन् ।
पहिरोका कारण स्थानीय रामबहादुर बस्नेत, नारायणकुमार बस्नेत, प्रेमकुमार बस्नेत, लक्ष्मण बस्नेत, ताराकुमारी बस्नेत, कुमारी बस्नेत र पदमबहादुर बस्नेतको घर बगाएका कारण उनीहरुको परिवार विस्थापित भएका हुन् ।
उनीहरु अहिले छिमेकीकोमा आश्रय लिएर बसेका महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले जानकारी दिए। त्यहाँका अरु ३० घर पहिरोको उच्च जोखिममा परेका छन् ।
गत वर्ष पनि जोखिममा बसेका त्यहाँका बासिन्दाको यस वर्ष भने घरबास नै बगाएको हो । सो ठाउँमा गत हिउँदमा समेत सुक्खा पहिरो झरेको थियो । घर बगाएका अरुको शरणमा रहेको र घर जोखिममा भएकासमेत रात बिताउन अरुको घर तथा गोठको साहारा लिन थालेका छन् । रासस