स्थानीय तहको निर्वाचनसँगै २० वर्षपछि नागरिकले स्थानीय सरकार पाए। तर चुनिएका जनप्रतिनिधिले जनतालाई सेवासुविधाका लागि भन्दा आफ्नै लागि विलासिताका सामान खरिद गर्न बढी ध्यान दिएको भनेर अहिले आलोचना भइरहेको छ। त्यसमा पनि विशेष गरी महानगरका मेयरले चढ्ने गाडीमा अाम चासो देखिन्छ।
काठमाडौं, ललितपुर, पोखरा लेखनाथ, भरतपुर र विराटनगर महानगरका मेयरमध्ये अहिलेसम्म काठमाडौंका मेयरले मात्र नयाँ गाडी किनेका छन्। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि १ करोड २० लाख पर्ने टोयोटा गाडी खरिद गरेका छन्। अरू चार महानगरका मेयरले भने पुरानै गाडीले काम चलाएका छन्।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि टोयोटा कम्पनीको प्राडो गाडी चढ्ने छिन्।
यो गाडी चारवर्ष अघि एक करोड ४० लाखमा किनेको प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए।
काठमाडौं महानगरसँगै जोडिएको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले १५ वर्ष अघि किनेको गाडी चढ्छन्।
उनलाई महानगरले उपलब्ध गराएको टोयोटा र्याप २००४ मोडेलको गाडी हो। त्यही पनि अहिले बिग्रिएर बनाउन दिइएको महानगर प्रवक्ता राजु महर्जनले बताए।
'उहाँ चढ्ने गाडी बिग्रेर बनाउन लगिएको छ। क्लोजअप प्लेट बनाउन र सर्भिसिङ गर्न दिएको केही दिन भयो। अहिलेसम्म आएको छैन,'उनले भने, '१५ वर्ष अघि किनिएको गाडी रहेछ।'
आफ्नो गाडी बिग्रिएपछि चिरिबाबु वारतावरण महाशाखाले दिएको टाटा गाडी चढिरहेका छन्। प्रवक्ता महर्जनका अनुसार यही गाडीले काम दिने बेलासम्म नयाँ गाडी किन्ने योजना छैन।
पोखरालेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी पनि पुरानै गाडीले काम चलाएका छन्। पोखरा महानगरमा दुईवटा गाडी छन् तिनै गाडी पालैपालो चढ्ने गरेको जिसिले बताए।
'यहाँ पुराना गाडी रहेछन्। अहिले यिनैले काम चलेको छ,' उनले सेतोपाटीसंग भने।
एउटा प्राडो गाडी र अर्को निशान कम्पनीको गाडी छ। २० वर्ष पहिले किनेका गाडी भएपनि कन्डिसनमै रहेकाले आफूले नयाँ नकिनेको उनले बताए।
'यिनैले धानेका छन्,गुडेका छन् त्यसैले नयाँ किन्ने विचार गरिएन,'उनले भने, 'गाडी नयाँ किन्ने भन्दा पनि जनतालाई चाहिने सेवा र उनीहरुको समस्या व्यवस्थापनमा हामी फोकस छौँ।'
विराटनगर महानगरपालिका मेयर भिम पराजुली टोयोटा कम्पनीको ४९४ मोडलको फर्च्युनर गाडी चढ्छन्।
यो गाडी नेपाल सरकार वा महानगरपालिका आफैंले किनेको भने होइन। यो एउटा परियोजनाको गाडी भएको पराजुलीका स्वकीय सचिव घनश्याम काफ्लेले बताए।
'फिनल्याण्ड सरकारले सिमेन प्रोजेक्ट अन्तर्गत सोयलवेस्ट प्रोग्राम लन्च गरेको थियो। उक्त प्रोग्राम विराटनगरमा पनि थियो। त्यही कार्यक्रम अन्तर्गत टोयोटाका दुई गाडी आएका हुन्। चार वर्ष अघि आएका ती गाडी पछि महानगरलाई हस्तान्तरण गरियो। अहिले मेयरसाव त्योमध्ये एउटा गाडी चढ्नुहुन्छ,' उनले भने।