अनाधिकृत पुस्तक उत्पादन र बिक्री वितरणबारे विवाद उत्पन्न भएपछि साझा प्रकाशनले आन्तरिक छानबिन र बजार अनुगमन शुरु गरेको छ ।
अनामनगरस्थित अल्पाइन प्रेसबाट आइतबार साझाको पुल्चोकस्थित गोदाममा राख्न ल्याइएका “सबैको नेपाली” पुस्तकमा प्रकाशन वर्ष र मूल्य फरक परेको भनी कर्मचारीले आवाज उठाएपछि छानबिन सुरु भएको हो ।
सोही विषयमा साझाका पुराना र नयाँ कर्मचारीबीच भनाभन हुँदा हात हालाहाल भएको घटनालाई दुवै पक्षले मिलापत्र गर्ने तथा साझाका व्यवस्थापकले कर्मचारी युनियनले राखेका माग सम्बोधन गर्ने समझदारी भएको छ ।
कर्मचारीका मागबारे छलफल गर्न आउँदो सोमबार सञ्चालक समितिको बैठक बोलाएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए।
उनले स्थापनाकालदेखि नै आफूले उत्पादन गर्न नसक्ने कृति बाह्य प्रेसलाई दिँदै आएकामा हाल पनि चालु पुँजीको अभाव रहेको, संस्था छापाखानाको क्षमतामा विस्तार नभएको र पाठ्यक्रममा रहेका पुस्तक समयै उत्पादन गरी बजारमा पठाउनुपर्ने भएकाले संस्थाले निर्धारण गरेको दररेटमा नियमानुसार बाह्य प्रेसबाट छपाइ गरी केन्द्रीय भण्डारमा स्टोर दाखिला गरी देशभर बिक्री वितरणको व्यवस्था मिलाइएको जनाए।
उनले अल्पाइन प्रेस आफ्नो नभई दिनेश श्रेष्ठको स्वामित्वको भएको जिकिर गरे । साझाबारे पछिल्लो समयमा उठेका प्रश्नबारे संसद्को लेखा समिति र शिक्षा मन्त्रालयबाट छानबिन भइरहेको छ ।
शर्माले भने, “ती छानबिनलाई पनि यसले सघाइनेछ र कुनै अवैध काम वा अनियमितता भएको पाइएमा जस्तोसुकै कारबाही भोग्न वा कठघरामा उभिन म तयार छु ।”
साझा प्रकाशन कर्मचारी संगठनका अध्यक्ष प्रभा रेग्मीले कर्मचारी नियमावली संशोधन फिर्ता, अध्यक्ष र महाप्रबन्धक एकै व्यक्ति हुन नहुनेलगायत आफूहरुले राखेका पेशागत माग पूरा हुनुपर्ने र इतिहास बोकेको संस्था डुब्न नहुने बताइन्। रासस