माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा मंगलबार राति पहिरोसहित बढेर आएको खहरे खोलाले घरवारविहीन बनाएका र उच्च जोखिममा परेका १६ घरपरिवारलाई अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) ले शुक्रबार दुई लाख ४० हजार रुपैयाँ राहत वितरण गरेको छ ।
पहिराका कारण आफन्त तथा छिमेकीका घरमा शरण लिएर बसेका पीडित परिवारलाई आयोजनाले घटनास्थलमा पुगेर प्रतिघर परिवारलाई १५ हजारका दरले राहत वितरण गरेको हो । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र एक्याप इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख यमबहादुर गुरुङले बाढीपीडितलाई राहत रकम हस्तान्तरण गरे।
त्यसैगरी लायन्स क्लब अफ पोखरा अन्नपूर्णले पहिरोपीडित १६ परिवारलाई खाद्यान्न, ११ विद्यार्थीलाई जनही तीन हजार, शैक्षिक सामाग्री र कपडा गरी एक लाख ६० हजार मूल्य बराबरको राहत वितरण गरेको क्लबका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए । रासस