त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक क्याम्पसमा कम्तीमा १० भन्दा कम विद्यार्थी हुने विषयलाई अर्काे क्याम्पसमा समायोजन गर्ने भएको छ ।
मुलुककै जेठो र ठूलो विश्वविद्यालयको मानविकी संकायका केही विषयमा विद्यार्थी क्रमशः घटेपछि सो नीति ल्याइएको हो । आइतबार बस्ने त्रिविसभाबाट पारित गरी सो समायोजन (मर्ज) को नीति लागू गरिने त्रिविका योजना महाशाखा प्रमुख प्रा रिदिष पोखरेलले बताउनुभयो ।
त्रिविमा इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, मानवशास्त्र, नेपालीजस्ता विषयमा वर्षेनी विद्यार्थी घट्दो छ । पढेर तत्काल रोजगार नमिल्ने विषयको साटो विद्यार्थीले नयाँ, विशिष्टकृत र रोजगारमुखी विषय रोज्न थालेपछि विश्वविद्यालयले क्याम्पसहरुबीच विषय केन्द्रीकृतको नीति लिएको हो ।
यो नीतिअनुसार कुनै एक क्याम्पसमा १० भन्दा कम विद्यार्थी भएमा त्यहाँ अध्यापन नगराई त्यही विषय पढाइ हुने नजिकैको अर्काे क्याम्पसमा पढाउनेछ । त्रिविको स्नातकोत्तर तहमा इतिहास विषयमा हाल चारजना मात्र विद्यार्थी छन् भने शिक्षकको संख्या त्योभन्दा बढी छ ।
मानविकी संकायका डीन प्रा शिव भुसालले विषय नै हटाउन नभई क्याम्पसबीचको विषय समन्वय र केन्द्रीकरण गर्न खोजिएको बताउँदै ती विषयलाई पूर्ण खारेज नगरी पाठ्यक्रम परिमार्जनतर्फ लाग्नुपर्ने बताए।
“कतिपय पुराना विषयलाई नयाँ आएका शान्ति र द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयले विस्थापन गर्न खोजेका छन्, यो नेपालको मात्र होइन विश्वकै उच्चशिक्षाको प्रवृत्ति हो तर हामी विद्यार्थी कम भएका विषय एकैपटक खारेज गर्ने पक्षमा छैनौँ, आफ्नो विशेषताका लागि पनि ती विषय कायम राख्नुपर्ने हुन्छ,” उनले भने। हाल सो विश्वविद्यालयमा मानविकीअन्तर्गत २२ विभाग, छ कार्यक्रम र ३० विषय छन् ।
नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले विद्यार्थी कम भएका विषयलाई क्याम्पसहरुमा ‘मर्ज’ गर्नुभन्दा ‘इमर्ज’ गर्नु उपयुक्त हुने टिप्पणी गरे। उनले भने, “विषय शिक्षक एक ठाउँमा थुपारेर अर्थ छैन, तिनलाई कसरी काम दिने र व्यवस्थापन गर्ने भन्ने बिषय ठूलो हो, यसो नगर्दा झन भद्रगोल हुन्छ ।”
त्रिविसभाले चालू आवका लागि १९ अरबको बजेट प्रस्तुत गर्दै छ । त्यसमा उपत्यका बाहिरका क्याम्पसमा पनि सेमेस्टर प्रणालीको विस्तार, अनुसन्धान कोष स्थापनाजस्ता कार्यक्रम रहेको योजना महाशाखा प्रमुख पोखरेलले जानकारी दिए।
स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको संख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी संख्या बढ्न सकेको छैन ।
हाल मुलुकका सबै विश्वविद्यालय वा उच्च शिक्षा क्षेत्रको सबैभन्दा बढी भार अर्थात् ८२ दशमलव २ प्रतिशत विद्यार्थी त्रिविसँगै छ । हाल त्रिविबाहेक अन्य नौ विश्वविद्यालय सञ्चालित छन् । हालै खुल्ला विश्वविद्यालय स्थापित भए पनि त्यसले प्राज्ञिक कार्य शुरु गरिसकेको छैन । त्रिवि ऐन, २०४९ बमोजिम सञ्चालित त्रिविलाई सरकारले २०६९ मा केन्द्रीय विश्वविद्यालयको मान्यता दिइसकेको छ । कीर्तिपुरको केन्द्रीय कार्यालयमा यसको ४२ रोपनी जग्गा छ ।
नेपालमा पहिलो विश्वविद्यालयका रुपमा २०१६ मा यो संस्थाको स्थापना भएको थियो । विसं १९७५ मा भारतको कलकता विश्वविद्यालय र त्यसपछि पटना विश्वविद्यालयको स्वीकृतिमा त्रिचन्द्र कलेज स्थापना भएको थियो । त्रिवि स्थापना हुनुअघि चलेका १६ निजी कलेजलाई समायोजन गरेर त्रिवि बनेको हो । रासस