चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् ।
अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । साथै सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी नजिकका बासिन्दा त्रसित भएका छन् ।
जिल्लाको खाँडो, बिगुल, जिता, मोहुली, खडक र बलान खोलामा आएको बाढीले जिल्लाको दक्षिण पूर्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिका आज डुबानमा परेका छन् ।
बाढीका कारण यातायात, कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । राजविराज लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा रहेका सरकारी कार्यालयको परिसरमा तीन फिटसम्म पानी पसेको छ ।
राजविराजको मुख्य सडकमा तीन फिट भन्दा माथि पानी जमेको छ भने राजविराजको वडा नं १, २, ३, ४, ५देखि १५ वडासम्म डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको पूर्वी भेगको मोहुली खोलामा आएको बाढीले कंचनरुप नगरपालिका– ७ र ८ वडा, तिरुहुत गाउँपालिकाको भेडिया, मैनाकडेरी, गोइठी पिप्राहीलगायतको ठाउँ डुबानमा परेको स्थानीय विनाइ तिवारीले बताए।
हनुमाननगर कंकालनी नगरपालिका– १ देखि १४ वडाको पोर्ताहा, भारदह, मधुवापुर, बेरवा, सकरदही, जोगीनीयाँ, हनुमानगर र सप्तरीकै अति विकट मानिएको कोशी टप्पुमा अवस्थित कोशी नदीबाट आएको पानीले गोवरगाढाको बस्ती पूर्णरुपमा जलमग्न भएको छ ।
त्यस्तै सोही नगरपालिका– २ स्थित सकरदही र भारदहको बीचमा रहेको पश्चिमी नहरमा पानी निकासी बन्द हुँदा सयौँ घर डुबानमा परेको हनुमानगर कंकालनी नगरपालिकाका श्यामसुन्दर खड्काले बताए।
यसैगरी जिल्लाको पश्चिममा रहेको बलान खोलामा आएको बाढीले डाकनेश्वरी, बोदेवरसाइन नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् ।
खडक नदीमा आएको बाढीले बोदेवरसाइन नगरपालिका–६ स्थित जोगीयाटोलमा कटान सुरु भएको र त्यहाँ त्रासको अवस्था रहेको स्थानीयवासीले जनाएका छन् ।
सो नदीले करिब दुई सय मिटर गाउँकोसमेत जमिन कटान गरेको स्थानीयवासी रोशन गोइतले बताए। यसैगरी कोशी नदी र खाँडो नदीमा अत्यधिक बाढी आएका कारण जिल्लाको दक्षिणी भेगका देउरी भरुवा, तोपा, कजोली, लोनीया, सकरपुरा, रम्पुरा मलहनीया, इनरुवा र तिलाठी गाउँ पूर्णरुपमा डुबानमा परेको र त्यहाँका बासिन्दा गाईभैँसी, बाख्रालिएर सुरक्षित स्थान र सडकमा आएर खुला आकाशमुिन पानीमा भिज्दै बसेका छन् ।
उनीहरुलाई खाद्यान्न र त्रिपालको आवश्यकता रहेको छ । यसैबीच सप्तरीको इनरुवामा रहेको एउटा मुगा फर्मलाई बाढीले बगाएको छ । राजविराज– ७ स्थित पाँचवटा घर र कारागार छेउमा रमियादेवी मेहतरको दुईवटा घरसमेत बाढीले क्षतिग्रस्त भएको छ ।
त्यस्तै राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्णरुपमा जलमग्न भएको छ, भने कम्पाउण्डवालसमेत भत्केको छ र उद्योगको काम ठप्प भएको त्यहाँको प्रशासनले जनाएको छ ।
त्यहाँ रहेका मलेठ, रायपुर, रुपनी, पोवापिप्राही, शम्भुनाथ , तैरोहता वीरेनबजार बर्दाही बनैनीया पूर्णरुपमा जलमग्न भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालका प्रमुख जिल्ला अधिकारी कृषबहादुर कटुवालले पानीको बहाव नहुने क्षेत्रमा डोजर लगाएर पानी निकासको लागि बाटो काटने, नदी कटान क्षेत्रमा बोरामा बालुवा हालेर राख्ने र सुरक्षा निकाय तथा गैर सरकारी संस्थालाई सञ्चालन गरिएको जानकारी दिए।
साथै क्षतिको विवरण समेत संकलन कार्य भइरहेको र उद्धार र राहत वितरणको कार्यसमेत भइरहेको बताए। रासस