शुक्रबारदेखि परेको अविरल वर्षाले विराटनगर विमानस्थल जलमग्न भएको छ। यहाँ धावनमार्गमा पानी भरिनुका साथै टर्मिनल भवनको भुइँतलामा पानी छिरेको छ।
स्थानीय केसलिया खोलामा पानी सतह बढ्नाले नजिकै विमानस्थलभित्र छिरेको हो। विराटनगर विमानस्थल प्रमुख सुरेशमान सिंहका अनुसार धावनमार्गमा ३ देखि ४ फिट पानी भरिएको छ। पानी भरिएको यही धावनमार्गमा श्री एयरलायन्सको जहाज रोकिएको उनले बताए।
श्री एयरलायन्सको जहाज शुक्रबार राति यहाँ ‘होल्ड’ गरिएको थियो। उक्त जहाजको पाङ्ग्रा माथि–माथिसम्म पानी आएको छ। टर्मिनल भवन, सेना र प्रहरी ब्यारेकसमेत पानीले भरिएको उनले जानकारी दिए।
‘दुहबीबाट आउने केसलिया खोला निबुवा भन्ने ठाउँमा थुनिँदा त्यसको पानी विमानस्थलभित्र छिरेको हो,’ सिंहले सेतोपाटीसँग टेलिफोनमा भने, ‘यसले केसलिया खोला आसपासका बस्तीमा पनि असर परेको छ।’
विमानस्थल जलमग्न हुनुले केही दिन विराटनगरमा उडान अवरुद्ध हुनेछ। वर्षा रोकिएर पानीको सतह सामान्य अवस्थामा फर्केपछि पनि विमानस्थल सञ्चालनमा ल्याउन कम्तिमा ४८ घन्टा लाग्ने सिंहले बताए।
‘पानी रोकिएपछि धावनमार्गमा कहाँ के समस्या छ, टर्मिनल भवनहरूको अवस्था कस्तो छ सबै हेरेर उडान सुरु गर्न कम्तिमा ४८ घन्टा लाग्नेछ,’ उनले भने।
विराटनगरमा अहिले पनि पानी पर्न रोकिएको छैन। शुक्रबार रातिबाट सुरु भएको वर्षा शनिबार दिउँसो १२ बजेतिर आधा घन्टाजति थामिएको थियो। त्यसपछि सुरु भएर अहिलेसम्म जारी छ। यसले उडान कति दिन रोकिने हो ठेगान नभएको उनले बताए।