तीन दिनदेखिको अविरल वर्षापछि बाराको जनजीवन नराम्ररी प्रभावित भएको छ। वर्षाकै कारण शनिबार बिहान एक घर भत्किँदा सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी ४५ वर्षीया श्रीमती गहनीदेवी पासवानको मृत्यु भएको छ।
वर्षाका कारण घर भत्किएपछि गहनीदेवी पुरिएर मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी वीरेन्द्र यादवले बताएका छन्। बाढीले महेन्द्र राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका अनुसार आर्दकोतवाल गाउँपालिकामा ५ वटा घर भत्किएका छन् भने २५ डुबानमा छन्।
निजगढ नगरपालिकामा २ दर्जन बढी घर डुबानमा छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार परवानीपुर गाउँपालिकामा ३० घर, बारागढी गाउँपालिका ३ मा ७, महागढिमाई नगरपालिकामा ३०, पचरौता गाउँपालिकामा ८ घर डुबानमा छन्।
यस्तै पर्साको भलुवाही खोलाको बाढीका कारण जगरनाथपुर गाँउपालिकाको हरपुरमोर टोलका करिब ८५ घर डुबानमा छन्।
पर्साकै ठोरीमा झिंगे, सरस्वती, ठुटे र ढेडु खोलामा आएको बाढीले सयौं बिगाहा धान खेती नष्ट गरेको छ।