मोरङमा बाढीका कारण ७ हजार ५ सयभन्दा बढी घर डुबानमा परेका छन्।
मोरङका एसपी अरुण विसीले सेतोपाटीलाई जानकारी दिदैं अहिलेसम्म दुई जना महिलाको शव फेला परेको र तीन जना बेपत्ता भएको सूचना आएको बताए। त्यस्तै,१९ वटा चौपाया हराएका छन्। वर्षा नरोकिएको र चारैतिर जलमग्न भएकाले यसबारे आधिकारिक तथ्यांक आउन नसकेको उनले बताए।
‘शुक्रबार रातिदेखि पानी रोकिएको छैन। उद्धारको लागि सुरक्षा निकाय खटेको छ,’विसीले भने,‘कति मानिस विस्थापित छन् भन्ने तथ्यांक आउन सकेको छैन। उद्धार सामग्रीको अभावले सबै ठाउँमा पुग्न सकिएको छैन।’
सिंगो मोरङ जिल्ला ताल जस्तो बनेको उनले बताए। सडकमा समेत गाडीका चक्का आधाभन्दा बढी डुबेको छ।
पहाड र तराईमा अविरल वर्षा भएकोले उद्धारमा समस्या आएको विसीले बताए।
उद्घोस दैनिकका सम्पादक मोहन भण्डारीले विराटनगरमा विजुली र सञ्चार अवरुद्ध भएको बताउँदै अहिलेसम्म आफूले यसरी विराटनगर डुबेको कहिले नदेखेको सेतोपाटीलाई बताए।