सरकारले आइतबार बिहान नारायणी नदी पनि खतराभन्दा माथि जान सक्ने भन्दै चितवन असपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आइतबार बिहान नारायणीको सतह अझै बढेर खतराभन्दा माथि जाने बताएको हो।
बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले भनेको छ। राप्ती नदी आसपास मुसलधारे पानी परिरहेको भन्दै उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
'पूर्व राप्ती नदी जलाधारलाई केन्द्रविन्दु बनाएर भीषण मौसमी प्रणाली विकसित भई मुसलधारे पानी परिरहेको छ। चितवनको जगतपुर, मेघौली र आसपास तटीय क्षेत्रमा अति उच्च सतर्कता जरुरी छ। मानिसलाई रातभर सुरक्षित स्थानमा सार्न अपिल छ,' विभागको फेसबुक पेजमा उल्लेख छ।
आइतबार बिहान पूर्वी क्षेत्रमा भारी वर्षा हुने र अन्यत्र पनि मध्यम वर्षा हुने भन्दै विभागले पूर्वदेखि पश्चिमसम्मै सर्वसाधारणलाई सावधानी अपनाउन आह्वान गरेको छ।