तीन दिनदेखि बिजुली अवरुद्ध पूर्वी नेपालका केही स्थानमा सोमबार साँझदेखि बत्ती आउने भएको छ। विराटनगर र आसपास क्षेत्रमा भने कहिले आउँछ टुंगो छैन।
दुहवीको विद्युत प्राधिकरण सबस्टेसन डुबानमा परेको र दमकमा कावेली करिडोरको बिजुली आउने पोल ढलेपछि पूर्वी क्षेत्रमा बिजुली अवरुद्ध भएको हो।
प्राधिकरणले इलाम र संखुवासभामा स्थानीय जलविद्युत आयोजनाबाट बिजुली वितरण गरेको छ। झापा, सुनसरी र मोरङमा भने बिजुली वितरण हुन सकेको छैन। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङले झापामा सोमबार साँझबाटै बत्ती आउने तर मोरङ र सुनसरीमा अझै टुंगो नभएको बताए।
‘दमक र अनारमणिका सबस्टेसन सामान्य अवस्थामा रहेकाले दुहवी सबस्टेसनलाई छलेर ढल्केबरको बिजुली साँझसम्म सिधै ल्याउने तयारी भएको छ,’ घिसिङले सेतोपाटीसँग भने, ‘अहिले प्राविधिकहरूले लाइनको जाँच गरिरहेका छन्।’ ढल्केबरबाट गएको १३२ केभी प्रसारण लाइनको बिजुली दुहवी सबस्टेसनबाट ३३ केभीमा रुपान्तरण गरेर विराटनगर, इटहरी र धरान लगायत क्षेत्रमा वितरण गरिन्छ।
दुहवी सबस्टेसनमा क्षतिको विवरण यकिन नभएकाले विराटनगर र आसपास कहिले बिजुली आउँछ टुंगो नभएको हो। घिसिङका अनुसार शनिबारको वर्षाले दुहवी सबस्टेसनको भवनमा पाँच फिटजति पानी जमेको थियो। जमेको पानीले कन्ट्रोल प्यानल नै डुबाएको छ।
‘अहिले पनि एक फिट जति पानी छ तर प्राविधिकहरु डुबेका सामान निकालेर काम लाग्ने/नलाग्ने जाँच गरिरहेका छन्,’ घिसिङले भने, ‘सबै सामान काम गर्ने अवस्थामा भए आज रातिसम्म सवस्टेशन चार्ज गर्छौं, सामान नै फेनुपर्ने भएचाहिँ अवस्था अर्कै हुन्छ।’
लहानदेखि पश्चिम भने मुख्य ट्रान्समिसन लाइनमा देखिएको समस्या समाधान भइसकेको घिसिङले जानकारी दिए। ती क्षेत्रमा वितरण लाइनमा भने समस्या रहेकाले केही ठाउँमा बत्ती आएको छैन।
गएको शुक्रबारदेखि परेको अविरल वर्षाले ढल्केबर–हेटौंडा प्रसारण लाइनमा रुख ढलेका थिए। रातभरि काम गरेर तीनलाई हटाइएको र अहिले वीरगन्जसम्म बिजुली सञ्चालनमा आएको छ।
भरतपुरमा रहेको सबस्टेसन पनि सोमबार बिहान ४ बजेदेखि चार्ज भएको छ। यहाँ भरतपुर सबस्टेसन पनि डुबानमा परेको थियो।
बर्दघाट–बुटवल ट्रान्समिसन लाइनमा भने अझै समस्या रहेको घिसिङले बताए। पश्चिम क्षेत्रमा सोमबार पनि बर्षा र डुबान भएकाले केही ठाउँमा लाइन भएर पनि बिजुली दिइएको छैन। ‘डुबान परेका ठाउँमा बिजुली दिँदा नांगो तार झरेर झन ठूलो क्षति हुने भएकाले नदिएका हौं,’ घिसिङले भने।
बुटवलदेखि महेन्द्रनगरसम्मको प्रसारण लाइन सामान्य भए पनि कोहलपुरदेखि सुर्खेतको प्रसारण लाइनमा समस्या छ। कोहलपुर–सुर्खेत प्रसारण लाइन मर्मतको काम भइरहेको घिसिङले जानकारी दिए।