पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) निर्वाचन अायोगमा दर्ता भएपछि राप्रपाका अध्यक्ष कमल थापाले अदालतकै कारण अाफ्नो पार्टी विभाजन भएको बताएका छन्।
बुधबार राति ट्वीट गर्दै थापाले अाफूहरूले न्याय नपाएको गुनासो गरेका छन्।
'अन्यायपूर्वक प्रधानन्यायाधीश विरूद्ध महाअभियोग प्रस्ताव पेस हुँदा नैतिकताका अाधारमा सत्ता परित्याग गर्ने राप्रपा अाज अदालतकै कारण विभाजित भयो। न्याय पाइएन', थापाले लेखेका छन्।
यसअघि निर्वाचन अायोगले अाजै अावश्यक संख्या पुर्याएको भन्दै राणाको राप्रपा (प्रजातान्त्रिक) दर्ता गरेको थियो।
कमल थापा नेतृत्वको राप्रपा फुटाएर राणाले नयाँ पार्टी बनाएका थिए। तर चालिस प्रतिशत केन्द्रीय सदस्य र सांसद पुर्याउन नसक्दा दल दर्ता प्रक्रिया अन्यौलमा परेको थियो।
भदौ ४ गते नयाँ पार्टी गठनका लागि आवश्यक सांसद र केन्द्रीय सदस्यको संख्या सनाखत गर्न नसकेपछि निर्वाचन आयोगले सनाखत गर्न नसकेको प्रमाणिकरण गरिदिएको थियो। तर भदौ ५ गते सर्वोच्च अदालतले निर्वाचन आयोगलाई दल दर्ता गर्न निर्देशन दिएको थियो।
गत साउन २२ गते थापा नेतृत्वको राप्रपा फुटाएर राणाले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए। आयोगले दल दर्ताका लागि राणाको निवेदन पछि राणालाई चालिस प्रतिशत केन्द्रीय सदस्य र सांसदको नागरिकता र हस्ताक्षर सनाखत गर्न २९ साउनसम्मको समय दिएको थियो।
तर उक्त समयमा राणाले हस्ताक्षर बुझाउन नसकेपछि थप समय मागेका थिए। आयोगले दोश्रो पटक भदौ ४ सम्मको समय राप्रपा प्रजातान्त्रिकलाई दिएको थियो।