बाढी र पहिरोका कारण विस्थापित परिवारलाई विभिन्न संघ संस्थाले राहत वितरण गरेका छन् ।
राजविराज नगरपालिका–९ स्थित मलेठका करिब ५६० बाढीपीडित परिवारलाई आसमान नेपालले बुधबार राहत वितरण गर्यो । वल्र्डवाइड कनसल्ट तथा पिपुल इन निड नामक संस्थाको सहयोगमा राजविराजस्थित राज रंगशालामा आयोजित कार्यक्रममा उनीहरुलाई विभिन्न खाद्य सामग्रीसहित राहत वितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवणकुमार देवले जानकारी दिए।
प्रतिव्यक्ति ३० किलो चामल, पाँच किलो दाल, एक किलो नुन, दुई लिटर खाने तेल, दुई किलो चिनी, एक/एक थान बाल्टिन र मग तथा एक थानका दरले झुल, दुई/दुई थानका दरले नुहाउने साबुन र एक थान सेनेटरी प्याडलगायत सामग्री वितरण गरिएको बताइएको छ ।
यस्तै, डियर वाक फाउन्डेसन, काठमाडौँले सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रहेका ९० बाढीपीडित परिवारलाई राहतस्वरुप चारहजार ५ सय रपैयाँका दरले राहत प्रदान गरिएको सो संस्थाका स्वयंसेवक सन्दीप सदाले जानकारी दिए।
यसैगरी, गैरआवासीय नेपाली संघले सप्तरीको बोदेबर्साइन नगरपालिकालगायत विभिन्न ठाउँमा मंगलबार र बुधबार बाढीपीडितलाई राहत वितरण गरेको छ । करिब एक हजार ५०० परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेललगायतको राहत वितरण गरिएको बताइएको छ । रासस