सैनामैना नगरपालिकाले आव २०७४/०७५ का लागि ५४ करोड ६७ लाख रुपैयाँको बजेट पारित गरेको छ ।
नगरपालिका घोषणा भएपछिको पहिलो नगरसभामार्फत वार्षिक बजेट प्रस्तुत गर्दै प्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएको बताए।
सडक पूर्वाधार निर्माण प्राथमिकता दिँदै नगर क्षेत्रको गुरुयोजना बनाउने र मुख्य सडक कालेपत्रे तथा स्तरोन्नति गर्न छ करोड ७३ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ। विद्यालयका प्राचार्यसँग कार्यसम्पादन सम्झौता गर्ने नीति बनाउन अध्ययन सुरु गरिने बजेटमा उल्लेख छ। शिक्षा क्षेत्रमा नौ करोड ८६ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, कृषि तथा पशुपालनतर्फ एक करोड ३५ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । कृषि कार्यक्रमअन्र्तगत निर्वाहमुखी कृषि प्राणीलीलाई क्रमशः विस्थापित गरी व्यावसायिक कृषि प्रणलीको विकास, दुग्ध उत्पादनमा आत्मनिर्भर, सहकारीलाई कृषि उत्पादनतर्फ प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।
स्वास्थ्य संस्थाको सवलीकरणका लागि १ करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्रोहा स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । रासस