आउने हिउँदमा नेपालले भारतबाट थप १०० मेगावाट बिजुली ल्याउन सक्ने भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले बिहीबार १३२ केभी क्षमताका दुई प्रसारण लाइन (कटैया-कुशहवा र रक्सौल-परवानीपुर)को उद्घाटन गरेका छन्।
नेपाल विद्युत प्राधिकरणले भारतबाट आउने थप बिजुलीले हिउँदमा लोडसेडिङ हटाउन राहत हुने जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षभन्दा यो हिउँदमा २०० मेगावाट बढी माग हुने र त्यो माग पूरा गर्न भारबाट आउने थप बिजुलीले राहत पुग्ने बताए।
'भारतबाट थप बिजुली ल्याउन सक्ने भएपछि यो हिउँदमा पनि लोडसेडिङ हटाउन हामीलाई केही राहत भयो', घिसिङले भने।
कटैया-कुशहवा प्रसारण लाइनबाट अहिले पनि बिजुली आयात भइरहेको छ। रक्सौल- परवानीपुर प्रसारण लाइनको भने भारततर्फ एउटा सवस्टेशनको काम जारी छ। जुन केही दिनभित्रै सक्ने भारतीय पक्षले जानकारी दिएको छ।
दुबै प्रसारण लाइनबाट प्रतियुनिट ५.५५ भारतीय रूपैयाँमा बिजुली आयात हुनेछ।
गत वर्ष हिउँदमा नेपालले भारतबाट करिब ३५० मेगावाट बिजुली आयात गरेको थियो।
कुलेखानीमा पोहोरको जति पानी भइसक्यो
निर्देशक घिसिङले कुलेखानी जलाशयमा गत वर्षको जति पानी जम्मा भइसकेको जानकारी दिए।
'केही दिनअघि पोहोरभन्दा कुलेखानीमा पानीको तह करिब ६ मिटर कम थियो। पछिल्ला दिनमा हामीले पोहोर सालको हाराहारीमा ल्याइसकेका छौं' घिसिङले भने।
उनका अनुसार बिहीबारसम्म कुलेखानीमा पानीको तह १५१७ मिटरमा आइपुगेको छ।