भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिमलाई अदालतले बलात्कारमा दोषी ठहर गरेको छ।
हरियाणाको पन्चकुलास्थित केन्द्रीय जाँच ब्युरोको विषेश अदालतले डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका रहिमलाई बलात्कारमा दोषी ठहर गर्दै जेल पठाउने निर्णय गरेको हो।
उनले भोग्नु पर्ने जेल सजायको समय अदालतले सोमबार तोक्नेछ।
त्यतिन्जेल रहिमलाई प्रक्राउ गरेर सेनाको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। अहिले उनलाई भारतीय सेनाको पश्चिम कमाण्डको मुख्यालयमा राखिएको छ।
उनलाई राखिने जेलबारे भोलिसम्म निर्णय गरिनेछ।
पन्चकुलामा रहिमका हजारौं समर्थक जम्मा भएका छन्। राज्य सरकारले स्थिति सामान्य राख्न त्यहाँ कर्फ्यू आदेश जारी गरेको छ।
आफूलाई आध्यात्मिक गुरू बताउने रहिम विरूद्ध एक महिला अनुयायीले सन् २००२ मा बलात्कारको आरोप लगाएकी थिइन्।
उनमाथि हत्याआरोपमा पनि मुद्दा चलिरहेको छ।
रहिम धार्मिक गुरूका अलावा गीत गाउने र फिल्म पनि खेल्ने गर्थे।